राष्ट्रिय सभामा सिटौलाको चेतावनी : 'गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाए दुवै सदन चल्दैन'

राष्ट्रिय सभामा सिटौलाको चेतावनी : 'गृहमन्त्रीमाथि संसदीय छानबिन समिति नबनाए दुवै सदन चल्दैन'

काठमाडौं : राष्ट्रिय सभामा नेपाली कांग्रेसका संसदीय दलका नेता कृष्णप्रसाद सिटौलाले सहकारी ठगि प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति नबनाएसम्म दुवै सदनको बैठक सञ्चालन गर्न नदिने बताएका छन्।

शुक्रबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले पार्टीको आज बसेको संसदीय दलको बैठकले समेत संसदीय छानबिन समिति नबनेसम्म दुवै सदनको बैठक अघि बढ्न नदिने निर्णय गरेको बताए।

उनले महान्यायाधिवक्ताले इतिहासमै नभएको सरकारका मन्त्रीलाई क्लिन चिट दिने काम गरेको भन्दै आपत्ति जनाए।

उनले भने, ‘हामीले पटक पटक कहिले प्रधानमन्त्रीको र कहिले सभामुखको समन्वयमा हामीले उहाँ (गृहमन्त्री लामिछाने)लाई भेटेका छौँ। हामीले स्वयं उहाँसँग पनि कुरा राखेका छौँ। तपाईंले संसदीय छानबिन समिति बनाएर क्लिन चिट लिनुस् न। महान्यायाधिवक्ताले कसैलाई क्लिनचिट दिँदै हिँड्छ, प्रहरीले क्यारेक्टरको सर्टिफिकेट दिएको जस्तो। कुनै अपराध गरेको छैन है भनेर दिए जस्तो। मिल्दैन नि किन गरेको यस्तो? कसको प्रभावबाट हुन्छ। संसदीय छानबिन समिति नबसेसम्म दुवै सदनको बैठक अघि बढ्दैन। हामीले संसदीय दलको बैठकबाट पनि निर्णय गरिसकेका छौँ।’

उनले यति धेरै कुरा उठिसकेपछि संसदीय छानबिन समिति अनिवार्य बन्नुपर्ने आफ्नो पार्टीको माग यथावत् रहेको सुनाए।  

२८ बैशाख, २०८१, १५:३४:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।