१७० को लक्ष्य पछ्याउन नसक्दा मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना सकियो

१७० को लक्ष्य पछ्याउन नसक्दा मुम्बई पराजित, प्लेअफ पुग्ने सम्भावना सकियो

काठमाडौं : इन्डियन प्रिमियर लिग आईपीएल क्रिकेटमा मुम्बई इन्डियन्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ।

शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग २४ रनले पराजित भएपछि प्लेअफ खेल्ने सम्भावना सकिएको हो।

अंक तालिकाको दोस्रो स्थानमा रहेको श्रेयस अय्यरको टोली प्लेअफमा पुग्ने बाटोमा छ। मुम्बई नवौं स्थानमा छ।

पहिला ब्याटिङ गरेको कोलकाताले निर्धारित ओभरको १ बल बाँकी हुँदा सबै विकेट गुमाएर १६९ रन बनाएको थियो। जवाफमा मुम्बई १८. ५ ओभरमा अलआउट हुँदै १४५ रनमा समेटियो।

१७० रनको लक्ष्य पछ्याउन उत्रिएको मुम्बईले राम्रो सुरुवात गर्न सकेन। पावरप्लेमा एमआईले ४६ रनको स्कोरमा तीन विकेट गुमाएको थियो।

इशान किशन १३, नमन धीर र रोहित शर्माले ११-११ रन बनाएर आउट भए। चौथो नम्बरमा ब्याटिङ गर्न आएका सूर्यकुमार यादवले ३५ बलमा ५६ रन जोडे भने टिम डेभिडले २४ रन बनाए।

मिचेल स्टार्कले १९ औं ओभरमा तीन विकेट लिए। उनले टिम डेभिड, पियुष चावला र जेराल्ड कोएत्जीलाई आउट गरेका थिए। उनले यो खेलमा चार विकेट लिएका थिए। बरुण चक्रवर्ती, सुनिल नारायण र आन्द्रे रसेलले समान २-२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङमा आएको कोलकाता नाइट राइडर्स मुम्बई इन्डियन्ससँग संघर्षरत देखिएको थियो। टोलीले ५७ रनको स्कोरमा पाँच विकेट गुमाएको थियो।

मुम्बईको घातक बलिङका अगाडि साल्ट-नारायण जस्ता ब्याट्सम्यान पूर्ण रूपमा फ्लप साबित भए। उक्त खेलमा साल्टले ५ रन, रघुवंशीले १३ रन, श्रेयस अय्यरले ६ रन, सुनिल नारायणले ८ रन र रिंकु सिंहले ९ रन मात्र बनाए।

यसपछि मोर्चा मनिष पाण्डे र वेंकटेश अय्यरले लिए। यी दुईबीच छैटौं विकेटका लागि ६२ बलमा ८३ रनको साझेदारी भयो। अय्यरले मुम्बईविरुद्ध ७० रनको शानदार इनिङ खेलेका थिए। यस क्रममा उनको ब्याटबाट ६ चौका र तीन छक्का निस्केका थिए।

इम्प्याक्ट प्लेयरका रूपमा आएका पाण्डेलाई हार्दिक पाण्ड्याले आउट गरेका थिए। उनी ४२ रन बनाएर फर्किए। कोलकातालाई १७ औं ओभरमा दुई हार बेहोरेको थियो। आन्द्रे रसेलले यो ओभरमा ७ रन मात्रै बनाउन सके।

मुम्बईका जसप्रित बुमराहले तीन विकेट लिए। उनले वानखेडे स्टेडियममा आफ्नो ५० विकेट पूरा गरे। नुवान तुषाराले तीन, कप्तान पाण्डेले दुई र पियुष चावलाले एक विकेट लिए।

२२ बैशाख, २०८१, ०८:०२:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।