‘फर्की फर्की’ र ‘पुजार सार्की’को चेपुवामा परेपछि ‘दान्भी’को प्रदर्शन मिति सारियो

‘फर्की फर्की’ र ‘पुजार सार्की’को चेपुवामा परेपछि ‘दान्भी’को प्रदर्शन मिति सारियो

काठमाडौं : आगामी जेठ १० गते तीन वटा फिल्म ‘फर्की फर्की, पुजार सार्की र दान्भी’ प्रदर्शन तोकेका थिए। फिल्म प्रदर्शनमा आउन तीन साता बाँकी रहँदै आइतबार दान्भीका निर्माण टिमले फिल्मको प्रदर्शन रोकिएको जानकारी दियो। सामाजिक सञ्जाल तथा समाचारले राम्रै कभर गरे। 

तर, निर्माण टिमले २४ घण्टा नबित्दै अर्थात् सोमबार बिहानै फिल्मको प्रदर्शन आगामी असार ७ गते पुर्याएको जानकारी दिए। फिल्मलाई कसरी हल्ला गरेर प्रचार गर्न सकिन्छ भन्ने राम्रो खुराक बोकेकी नायिका पूजा शर्माका अगाडि फर्की फर्की र पुजार सार्की टिमको केही लागेन। पूजाले फिल्म सारेको र प्रदर्शन मिति तोकेको समाचारले दुई दिन अनलाइन र छापामा समाचार भरिए। 

एक त पूजालाई फिल्म चलाउन हल्लाबाजी अभिनेत्री भन्ने गरेका छन् दर्शकले। यसपालि पनि उनले हल्ला गरेरै फिल्म चलाउन काइदाको उपाय अपनाइरहेकी छिन्। तर, उनका सामाजिक सञ्जालमा कमेन्ट गर्नेहरूले फेरि हल्ला फिँजाइन भन्न भ्याइसकेका छन्।  

फिल्म ‘दान्भी’का वितरक करण श्रेष्ठले आइतबार हलका छाता संगठन चलचित्र संघसँगको सल्लाह बमोजिम फिल्मको प्रदर्शन मिति सारेको बताए। 

यता पूजाले पनि सामाजिक सञ्जालमार्फत लामै स्टाटस लेखेर फिल्मको प्रदर्शन तत्काललाई रोकिएको जानकारी दिइन्।

‘फिल्म निर्माण गर्दा एउटा निर्माताको जुन खालको मिहिनेत र लगानी हुन्छ, त्यसले प्रतिफल पाउन पनि आवश्यक छ। म आफै पनि एक निर्मात्री भएकाले यो भावना बुझेकी छु’, उनले लेखेकी छन्, ‘यसअघि हामीले जेठ १० गते फिल्म रिलिजको घोषणा गरेका थियौं। तर, यो मितिमा तीन वटा फिल्म रिलिज हुने भएपछि हामीले एकसाथ तीन फिल्म प्रदर्शन हुन उपयुक्त नहुने ठानेर ‘दान्भी’लाई केही हप्ता पछि सार्ने निर्णय गरेका छौं।’

उनले फिल्म सारेको जानकारी दिँदै जेठ १० मा रिलिज हुन लागेका दुई फिल्मलाई सफलताको शुभकामना समेत दिएकी छन्। उनको फिल्म सरेपछि ‘फर्की फर्की’ र ‘पुजार सार्की’लाई भने केही राहत मिलेको छ। 

अहिलेसम्म कुनै फिल्मले असार ७ गतेलाई प्रदर्शनको मिति नतोक्दा ‘दान्भी’ले सोलो रिलिजको अवसर पाउने पक्का देखिएको छ।

रुपेश तामाङले निर्देशक गरेको फिल्ममा पूजासहित नव–अभिनेता कुन्साङ बोमजोमको मुख्य भूमिका रहेको छ। लभस्टोरी कथामा बनेको  फिल्ममा अभिनय गर्दै आएकी पूजा यही फिल्मबाट पहिलोपटक एक्सन अवतारमा देखिने छिन्। देव मगर र अनुप गडाल निर्माता रहेको यो फिल्मका कार्यकारी निर्माता पवन राना मगर हुन्।

अनमोलसँग पूजाको द्धन्द्धको करामत
जेठ १० मा प्रदर्शन हुने तीन फिल्मका कलाकारबीच सम्बन्ध राम्रो छैन। फिल्म ‘फर्की फर्की’का अभिनेता अनमोल केसी र ‘दान्भी’की अभिनेत्री पूजाको सम्बन्ध पानी बाराबारको छ। गत वर्ष सुदर्शन थापाले निर्देशन गर्ने र पूजा अभिनेत्रीका साथै निर्माण गर्न लागेको फिल्म ‘रावायण’बाट अनमोलले हात झिकेपछि उनीहरूबीच तिक्कता बढेको थियो। 

निर्देशक थापाले अनमोल केसीले सम्झौता तोडेको भन्दै उनलाई प्रहरीमा समेत उजुरी हालेका थिए। निर्देशक थापाको उजुरीले अनमोललाई प्रहरी एक दिन हिरासतमा समेत राखिएको थियो।

उनी विरुद्धको उजुरी परेपछि अनमोलले फिल्म ‘रावायण’मा काम गर्नका लागि लिएको १० लाख पेस्की समेत फिर्ता गरेका थिए। अनमोलले फिल्ममा काम नगर्ने भन्दै पेस्की फिर्ता गरेपछि यसका निर्देशक थापाले अनमोललाई प्रहरी थुनामा पुर्याएको इगो उनीहरुबीचमा अझै छ। 

त्यसैको झोकमा उनीहरूबीच कसको फिल्मले दर्शक तान्ने होडबाजी चलेको थियो। त्यही होडबाजीको मारमा प्रदीप खड्का,पल शाह र आर्यन सिग्देल अभिनित फिल्म ‘पुजार सार्की’पनि प्रदर्शनमा आउने भएपछि फिल्म ‘दान्भी’ले रिलिजको दुई साताअघि प्रदर्शन मिति सारेको हो।
 
फिल्म ‘फर्की फर्की’का निर्माता रोहित अधिकारीले आफ्नो फिल्मसँग दान्भी लगायत टिम आएको बताइसकेका छन्। उनले आफ्नो फिल्मको ट्रेलर सार्वजनिक कार्यक्रममा फिल्म मुहूर्तको समयमा सबैसँग सल्लाह बमोजिम जेठ १० लाई प्रदर्शन गर्ने सहमति भएको जानकारी दिए। ‘आफ्नो फिल्मसँग किन उहाँहरूले जुधाउन आउनु भयो थाहा छैन,‘उनले भनेका छन्। 

यो फिल्मले प्रदर्शन मिति सार्नुमा अर्को कारण हो, युट्युबमा दर्शकको सहभागिता। फिल्म ‘फर्की फर्की’को ट्रेलर र गीतले सर्वाधिक भ्युज पाइरहेको अवस्थामा दान्भीको भने कमजोर छ। यसैको आधारमा उनीहरुले फिल्म सारेका हुन् कि भन्ने अनुमान गर्न सकिन्छ।  

१७ बैशाख, २०८१, १५:४५:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।