राजनीतिक स्थिरता दिन आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण

राजनीतिक स्थिरता दिन आम जनता र समाजवादी जन एकता पार्टीबीच एकीकरण

काठमाडौं : आम जनता पार्टी र समाजवादी जन एकता पार्टीबीच एकीकरण भएको छ।

काठमाडौंमा शनिबार आयोजित एक कार्यक्रमबीच प्रभु साह नेतृत्वको आम जनता पार्टी र नारायण श्रेष्ठ नेतृत्वको समाजवादी जन एकताबीच एकीकरणको घोषणा भएको हो।

समाजवादी अध्यक्ष श्रेष्ठले सबै छरिएर रहेका पार्टीहरू एकताबद्ध भएर वैकल्पिक शक्तिको रुपमा अगाडि बढ्नुपर्छ भन्ने मान्यताका आधारमा एकताको घोषणा गरेको बताए। 

उनले भने, ‘वर्तमान राजनीतिलाई अवलम्बन गर्दै विभिन्न कोणबाट संविधानको निर्वाचन गर्ने र संवैधानिक प्रक्रियाबाट अगाडि बढ्ने र प्रतिकूल अवस्था हेरे नेतृत्वहरुले अन्तरघात गर्दै आएको अवस्था छ। गठबन्धन बनाउँदै तोड्दै गरेर राजनीतिक र आर्थिक अवस्था कमजोर भएको छ। त्यसकारण हामीले अहिले एकताबद्ध भएर काम गर्नको लागि आज एकताको घोषणा गरेका छौ।’

यस्तै, कार्यक्रमलाई सम्बोधन गर्दै आम जनता पार्टीका अध्यक्ष साहले अग्रगामी, लोकतान्त्रिक र देशभक्त शक्तिहरू अलग अलग बसेर मुलुकको संकट समाधान गर्न नसक्न भएकाले एकीकरणको बाटोमा अघि बढेको बताए।

‘आज देश संकटबाट गुज्रिरहेको छ। राजनीतिक स्थिरता छैन। जनतालाई झुक्याउने, धोका दिने र बेइमानीको राजनीति भइरहेको छ। राजनीति हेर्ने हो भने लाजमर्दो छ। कहिले सरकार ढल्छ, ठेगान छैन। एउटै पार्टीको सरकारभित्र पनि दरार छ,’ उनले भने, ‘आर्थिक अवस्था झन दयनीय छ, व्यापारहरू कम छ, रोजगारीको अवसर छैन। हरेक क्षेत्रमा घाटा मात्रै छ। देश असफलताको कगारमा छ। यो अवस्थाको सुधारका लागि नेपाली जनताको एकता आवश्यक छ।’   

१५ बैशाख, २०८१, १९:०७:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।