'फेक भिडियो भाइरल बनाइयो, कतार लाने हात्तीको प्रक्रिया पूरा भएकै छैन'

'फेक भिडियो भाइरल बनाइयो, कतार लाने हात्तीको प्रक्रिया पूरा भएकै छैन'

काठमाडौं : नेपालको दुई दिने राजकीय भ्रमण सकेर कतारका राजा शेख तामिम बिल हमाद अल थानी स्वदेश फर्किएसँगै सामाजिक सञ्जालहरूमा नेपालले उपहार दिने भनिएका दुइवटा हात्तीलाई ट्रकमा चढाउँदै गरिएको भिडियो भाइरल भइरहेको छ। 

बुधबार दिउँसोदेखि भाइरल भिडियोमा दुवै हात्ती एउटा टुलमा टेक्दै ट्रकको ट्रलीमा उक्लिएको देखिएको छ। 

सामाजिक सञ्जालमा बिहीबार नै कतार पठाइएका भन्दै भाइरल भइरहेको भिडियो ‘फेक’ भएको र यसमा कुनै सत्यता नभएको नेपालका लागि कतारका राजदूत डा. नरेश विक्रम ढकालले जनाएका छन्। 

नेपालले उपहार दिने भनिएका हात्ती कतार पठाउनका लागि कानुनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएको विज्ञप्तिमार्फत् जानकारी दिएको हो। 

‘नेपालका तर्फबाट एक जोडी हात्ती उपहार दिनका लागि केही महिना अगाडिदेखि विभिन्न कार्यहरू र छलफल भइरहेकोमा अन्तर्राष्ट्रिय कानुनको पालना गरेर मात्र दिनुपर्ने भएकाले कागजी प्रक्रिया नटुङ्गिएकाले आगामी दिनहरूमा उपहार प्रदान गर्नका लागि समझदारी पत्रमा हस्ताक्षर भएपश्चात् उक्त प्रक्रिया पूरा हुनेछ,’ ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। 

कतार पठाउने भनिएका हात्तीहरू चितवन राष्ट्रिय निकुञ्जमा रहेको र सामाजिक सञ्जालमा भाइरल भिडियो समेत नेपालको नभएको बुझिएको छ। 

१३ बैशाख, २०८१, १६:०८:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।