जब समलिंगी महिला उम्मेदवार बनेर भोट माग्न गइन् ; ‘ढुङ्गा हानेर लखेटे, कुकुर लगाइदिए’
काठमाडौं : ‘जसोतसो गरेर राजनीतिमा सहभागी हुने अवसर पाएँ, तर मेरो पहिचानलाई सहज रूपमा स्विकारिएन। चुनावमा उठेँ तर मैले परिवारबाटै भोट पाइन,’ स्याङ्जाबाट उम्मेदवारी दिएकी समलिंगी महिला श्रेया थापाले भनिन्, ‘निक्कै पीडा भयो, यद्यपि साथीहरूले साथ दिए। म एक थिएँ। दश, सय हुँदै हजार साथी बाहिर आउनुभएको छ, यसलाई नै सफलता मानेको छु।’
उनले मत माग्न जाँदा भोगेको व्यवहार पनि दुखद रहेको सुनाइन्।
‘ढुङ्गा हानेर पनि लखेटे, कुकुर लगाइदिए, सहज छैन, तर पनि अधिकार स्थापित गर्न हाम्रो समुदायका युवाहरूले राजनीतिक संलग्नतामा जोड दिनुपर्छ।’
श्रेयाको जस्तै तीतो अनुभव भोगेकी छिन् समलिंगी अधिकारकर्मी एवं साहसिक कदम नेपालकी अध्यक्ष आनिक रानाले।
उनले यौनिक तथा लैङ्गिक अल्पसंख्यकलाई राजनीतिक दलहरूले उभ्याउने पात्र मात्र बनाएको अनुभव गरेकी छिन्।
‘२०६८ ले मलाई राजनीतिमा उपस्थित गरायो, तर २०७४ मा उभ्याउने पात्र मात्र बने’, उनले भनिन् ,‘हामीले गरेको श्रम प्यारो छ, तर हामी श्रमिक किन प्यारो भएनौँ?’ दलहरूले हामीलाई भोट बैंक मात्र ठान्नुभएन।’
अधिकारकर्मीहरूले अल्पसंख्यक समुदायलाई सम्बोधन गर्ने भनिए पनि व्यवहारमा र तोकेरै यो समुदायको समावेशीताको कुरा कतै उल्लेख नगरिएको प्रति आक्रोश पोखे। राजनीतिक रूपमै स्विकारिए मात्र परिवार र समाजले आफूहरूको पहिचानलाई स्विकार्ने यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको विश्वास छ।
‘२०७४ मा वडाअध्यक्षको उम्मेदवार लड्दा परिवारले नै पत्याएन,’ रानाले थपिन्, ‘दलले समेटेपछि मात्र परिवार र समाज अनि अरू क्षेत्रले पनि स्वीकार्ने बाटो खुल्छ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यकहरूको यकिन तथ्यांक नहुनुले अधिकारको लडाइँलाई प्रभावित बनाएको छ।
‘हाम्रो यकिन डाटा खोइ, राज्यले किन लिन सकेन? सबैको आरक्षण छ, हाम्रो आरक्षण खोइ?’ उनले प्रश्न गरिन्, ‘हाम्रो पहिचान अनुसार कति उमेर पुगेपछि भत्ता दिन्छ सरकारले? म सबै जातिमा छु तर सबैबाट छुटेको छु।’
उनले २०८४ को चुनावमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको प्रभावकारी उपस्थितिको खाँचो औंल्याइन्।
मिस्टर गे ह्यान्ड्सम २०१३ का उपाधि विजेता विश्वराज अधिकारीले राजनीतिमा आफूहरू गुमाउन होइन पाउनका लागि आउन चाहेको उल्लेख गरे।
‘हामी आफ्नो पहिचानसँगै सामाजिक, आर्थिक, राजनीतिक उपलब्धि हासिल गर्न चाहन्छौं, यद्यपि समुदाय पनि हाम्रा मुद्दामा पूर्ण जानकार हुनुका साथै राजनीतिक रूपमा सचेत हुन जरुरी छ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको मुद्दा यो समुदायको मात्र नभएको भन्दै अरू समुदायले पनि उठाउनुपर्ने र सम्बोधन गरिदिनुपर्ने अधिकारीले बताए।
‘यही पुस्तालाई समान रूपमा बाँच्ने अवसर जुराइयोस्। नेपालको संविधान उदारमुखी छ, परिवर्तनमुखी छ तर व्यवहारमा कार्यान्वयन नहुनु दुखद रह्यो।’
मिस्टर गे ह्यान्ड्सम २०१७ का उपाधि विजेता मनिल सिंले आफू सानैदेखि राजनीतिक रुचिसहित आदिवासी जनजाति महासंघको महासचिवसम्म भएको तर व्यवहारिक कठिनाइहरू रहेको सुनाए। आफ्नै समुदायका साथीबाट खराब व्यवहार भोग्नुपरेको उनी सम्झन्छन्।
‘आफ्नैसामु अध्यक्षले साथीको हाउभाउ हेरेर अपहेलित व्यवहार गरे। हामीलाई कागजमा मात्र अधिकार चाहिएको होइन। बरु घोषणापत्रमा नलेख्नुस् व्यवहारमा ल्याइदिनुस्,’ उनले भने, ‘मूल कानुनलाई टेकेर बनाउनुपर्ने ऐन नियम खोइ? अब पनि घरीघरी सर्वोच्च अदालत धाइरहनुपर्ने अवस्था नबनाइयोस्।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदाय सुधारका अभियन्ता एवं मायाको पहिचान नेपालका उपाध्यक्ष देवेन्द्र बहादुर खत्री (मधु)ले भविष्यमा राजनीतिमा सहभागी हुने लक्ष्य रहेको तर उपयुक्त वातावरण नभएकाले आत्मविश्वास गुमाएजस्तो भएको सुनाए।
‘म सशक्त रूपमा मेरो समुदाय, समाज र देशका लागि योगदान गर्न सक्छु। आवाजविहीनको आवाज बन्न सक्छु। देशको समुन्नतिमा योगदान पुर्याउन सक्छु तर उपयुक्त वातावरण छैन’ उनले भने।
मायाको पहिचान नेपालले युरोपियन युनियनको सहयोगमा यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको राजनीतिक समावेशीताका लागि सुरू गरेको पञ्चवर्षीय परियोजनामा सहभागी समुदायका सदस्यहरूले राजनीतिक तगाराहरू हटाउन आव्हान समेत गरे।
परियोजना सफलताको कामना गर्दै युरोपियन युनियनका राजदूत भेरोनिका लोरेन्जो ले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकको मुद्दा मानव अधिकारको विषय रहको बताइन्। मानव अधिकार, समावेशीताको लागि युनियनले सहयोग गर्ने उनको भनाइ छ।
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायका कम्तीमा तीनसय जनालाई राजनीतिमा प्रवेश गराउने लक्ष्यसहित आगामी निर्वाचनमा सहभागी गराई राज्यको नीति निर्माण तहमा प्रतिनिधित्व गराउने उद्देश्य रहेको मायाको पहिचान नेपालले जनाएको छ।
१३ बैशाख, २०८१, १५:४५:३५ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।