महोत्तरीमा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले

महोत्तरीमा आगलागीबाट दुई वटा बस्ती नै खरानी, ९७ घर जले

महोत्तरी : मटिहानी नगरपालिका-६, जरलहवामा बुधबार दिउँसो ७ घण्टासम्म आगलागी हुँदा दुई वटा बस्ती नै जलेर खरानी भएका छन्।

मुस्लिम बस्तीको मियाँ टोलमा परालको कुन्युँमा लागेको आगो हावाहुरीले उडाएर बस्तीभरि फैलिएपछि मियाँ टोल र नजिकको हत्ता टोल हेर्दाहेर्दै जलेर खरानी भएका हुन्।

महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले प्रहरीले संकलन गरेको तथ्यांकअनुसार आगलागीबाट दुई बस्तीका ९७ घर जलेर नष्ट भएका जानकारी दिए।

‘बुधबार दिउँसोबाट लागेको करिब ७ घण्टापछि नियन्त्रणमा आयो,’ उनले भने, ‘अहिलेसम्म ९७ घर जलेर नष्ट भएको तथ्यांक संकलन भएको छ । क्षतिको विवरण संकलन गरिरहेका छौँ।’

उनका अनुसार पीडितहरूलाई राहत र बासको व्यवस्थापनका लागि समेत पहल भइरहेको छ। बुधबार साँझसम्म आगो नियन्त्रणमै समय गुज्रिएका कारण पीडितहरूले दालमोठ र चिउरा खाएर खुला आकाशमुनि रात कटाएका छन्।

‘रेडक्रसले केही त्रिपाल वितरण गरेको छ। लत्ताकपडाहरू केही उपलब्ध गराउन सकिएको छैन,’ प्रमुख जिल्ला अधिकारी गेलालले भने, ‘खानका लागि राति दालमोठ र चिउरा बितरण गरिएको थियो । अब व्यवस्थित गर्ने प्रयास गरिरहेका छौँ।’

उनका अनुसार नगरपालिकाले पीडितहरूलाई तत्काल प्रति परिवार ५ हजार रुपैयाँ नगद उपलब्ध गराउने तयारी छ भने जिल्ला विपद् व्यवस्थापन समितिले अन्य राहतका सामग्री जुटाइरहेको छ।

१३ बैशाख, २०८१, ०८:४१:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।