उप-निर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

उप-निर्वाचन हुने इलाम र बझाङमा मौन अवधि सुरू

काठमाडौं : शनिबार हुने उप-निर्वाचनका लागि इलाम र बझाङमा मौन अवधि सुरू भएको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा इलाम क्षेत्र नं. २ र बझाङ प्रदेशसभा-१ मा निर्वाचन कानून र आचारसंहिताबमोजिम मौन अवधि लगाएको हो।

मौन अवधिमा निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा ५ तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ बमोजिम निषेधको अवधिमा निर्वाचन प्रचार-प्रसार लगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा, सम्मेलन, कार्यशाला, गोष्ठी आदि गर्न तथा उम्मेदवारको पक्ष या विपक्षमा कुनै पनि प्रकारको प्रचारप्रसार गर्न पाइँदैन । 

आयोगले आचारसंहिताबमोजिम एसएमएस, फेसबुक, भाइबरजस्ता विद्युतीय माध्यम तथा सामाजिक सन्जालबाट समेत मत माग्न निषेध नपाइने जनाएको छ।

दुवै जिल्लामा मौन अवधिको कार्यान्वयनका लागि आचारसंहिता अनुगमन तथा नियन्त्रणका लागि समेत कानूनबमोजिम निर्देशन गरेको छ।

इलाम-२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य सुवासचन्द्र नेम्वाङ र बझाङ-१ बाट निर्वाचित प्रदेशसभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपनिर्वाचन हुन लागेको हो। 

दुवै क्षेत्रमा उप-निर्वाचनअन्तर्गत शनिबार मतदान हुँदैछ।

१३ बैशाख, २०८१, ०७:५३:३५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।