कांग्रेसलाई रविको चुनौती : 'सरकारमा आएर मलाई थुन्ने पहिलो निर्णय गरे हुन्छ, म डराएको छैन'

कांग्रेसलाई रविको चुनौती : 'सरकारमा आएर मलाई थुन्ने पहिलो निर्णय गरे हुन्छ, म डराएको छैन'
फाइल

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफू कांग्रेससँग नडराएको बताएका छन्। 

मंगलबार इलामको चुलाचुलीमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उपप्रधान तथा गृहमन्त्री समेत रहेका लामिछानेले कांग्रेस सरकारमा हुँदा आफ्नै पार्टीका नेता बालकृष्ण खाँणलाई पक्राउ गरेको स्मरण गर्दै कांग्रेसले चाहे आफूलाई पनि नछाड्ने बताए।

'आफ्नै नेता थुन्नेले मलाई छोड्लान् र? म भन्छु सके थुन्नुस्। सरकार अंक गणितको खेल हो, सरकारमा आएर पहिलो निर्णय मलाई थुन्ने निर्णय गरे हुन्छ। म डराएको छैन,' उनले भने।

लामिछानेले सहकारी ठग्नेहरूको सम्पत्ति जफत गरेर बचतकर्तालाई तिर्ने कानूनी तयारी भइरहेको बताउँदै सहकारी पीडितहरूलाई न्याय नदिलाएसम्म आफूले राजनीतिबाट विश्राम नलिने घोषणा गरे।

उनले भने, 'दुख गरेर सहकारीमा पैसा जम्मा गर्नेहरूलाई फिर्ता गर्ने क्रमको सुरुवात नलिइकन म राजनीतिबाट विश्राम लिन्न याद गर्नुहोला।' 

उनले सरकारमा काम गर्न सकिएन र पाइएन भने टाँसिएर नबस्ने बताए।

'मिति मात्र लेख्न मिल्ने गरेर राजीनामा पत्र झोलामा बोकेर हिँडेका छौँ। प्रधानमन्त्रीले गलहत्याएर निकाल्न पर्दैन। टाँसिएर बस्ने काम हामी गर्दैनौँ।' 

११ बैशाख, २०८१, १५:२६:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।