ह्वासिन नारायणी सिमेन्ट परियोजनाको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

ह्वासिन नारायणी सिमेन्ट परियोजनाको ६ अर्ब ६३ करोड थप लगानी स्वीकृत

काठमाडौँ  नेपाल लगानी बोर्डको बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजना र डाबर नेपालले क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि प्रस्तावित लगानी अगाडि बढाउने निर्णय गरेको छ। लगानी सम्मेलनको पूर्व सन्ध्यामा मङ्गलवार बसेको बैठकले ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि ६ अर्ब ६३ करोड ४० लाख रुपैयाँ थप लगानीको प्रस्ताव स्वीकृत गरेको छ।

धादिङको ताल्तीमा कारखाना रहेको ह्वासिन सिमेन्ट उद्योगले वार्षिक पाँच लाख ६० हजार टन ओपीसी सिमेन्ट, दुई लाख ४० हजार टन पीपीसी सिमेन्ट, चार लाख टन पीएससी सिमेन्ट र १० लाख ९५ हजार टन क्लिंकर उत्पादन गर्ने गरेको छ। करिब १६ अर्बको लगानी रहेको  उद्योगमा ​​​​​​​चिनियाँ कम्पनी ह्वासिन सेन्ट्रल एसिया इन्भेष्टमेन्ट कम्पनी लिमिटेड र नेपाली साझेदार वैद्य अर्गनाइजेसनका सुरज वैद्यको लगानी रहेको छ। ह्वासिन सिमेन्ट नारायणी प्रालिमा चिनियाँ ८० प्रतिशत लगानी र वैद्यको २० प्रतिशत लगानी छ।

बोर्डको ५८ औँ बैठकले डाबर नेपाल प्रालिको विस्तृत परियोजना प्रतिवेदन जानकारीमा लएर लगानी सम्झौता वार्ता अगाडि बढाउन बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय समेत गरेको छ।

डाबरले नेपालमा क्षमता विस्तार तथा उत्पादन विविधीकरणका लागि ९ अर्ब ६८ करोड रुपैयाँ पुनर्लगानीका लागि प्रस्ताव गरेको थियो। तर त्यसबारे निर्णय भएको छैन। बैठकले परियोजनाको स्वीकृत परियोजना प्रतिवेदन बोर्डले मूल्याङ्कन गरेपछि वार्ता प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो।

११ बैशाख, २०८१, १४:०३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।