कतारका राजालाई सेनाको कमान्डमा ‘क’ श्रेणीको सुरक्षा

कतारका राजालाई सेनाको कमान्डमा ‘क’ श्रेणीको सुरक्षा

काठमाडौं : मंगलबार नेपाल भ्रमणमा आउन लागेका कतारका राजा शेख तमिम बिल हमाद अल थानीलाई क श्रेणीको सुरक्षा दिइने भएको छ।

नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका उच्च अधिकारीहरूको बैठकले साँझ ४ बजेर ३० मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिने शेखलाई सुरक्षा कार्यविधि अनुसार ‘क’ श्रेणीको सुरक्षा दिने निर्णय गरेको हो।

पहिलो पटक राजकीय भ्रमणमा आएका कतारी राजालाई स्वागत गर्न राष्ट्रपति रामचन्द्र पौडेल आफैँ विमानस्थल पुग्नेछन्। भ्रमणको सुरक्षा व्यवस्थाबारे जंगी अड्डामा पटक-पटक छलफल भैसकेको छ।

सुरक्षा व्यवस्थापनको नेतृत्व नेपाली सेनाले गर्नेछ भने यसको समन्वय जंगी अड्डाबाट हुनेछ। नजिकको घेरामा सेना, त्यसपछि नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गर्नेगरी सुरक्षा योजना तय गरिएको छ।

विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापन कार्यविधि-२०७७ अनुसार भित्री घेरामा नेपाली सेनाकै तीन वटा घेरा हुनेछ।

नजिकको घेरामा सेनाका पाश्ववर्तीहरू अति विशिष्ट व्यक्तिको सुरक्षा निर्देशनालयबाट खटिन्छन्। भित्री घेरामा पनि सोही निर्देशनालयको टोली र मध्य घेरामा अन्य सैनिक अधिकारीहरू खटिन्छन्।

मध्य घेरामा सूचना संकलन गर्ने उद्देश्यले नेपाल प्रहरीका सुरक्षा अधिकारीहरूलाई सादा पोशाकमा परिचालन हुन्छन् भने राष्ट्रिय अनुसन्धान विभागका अधिकारीहरूले सूचना संकलनको काम गर्नेछन्।

प्रहरी, सशस्त्र प्रहरी बल नेपाल र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षा अधिकारीहरू बाहिरी घेरामा खटिनेछन्।

११ बैशाख, २०८१, ०८:३८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।