मदन भण्डारीलाई सम्झिँदा भावुक बनिन् विद्यादेवी : देउवाले सोधे- 'दुईपल्ट राष्ट्रपति बनेर पनि मदनको हत्यारा किन खोज्नुभएन?'

मदन भण्डारीलाई सम्झिँदा भावुक बनिन् विद्यादेवी : देउवाले सोधे- 'दुईपल्ट राष्ट्रपति बनेर पनि मदनको हत्यारा किन खोज्नुभएन?'

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको अवसरमा एमालेले सोमबार देशभरि विभिन्न कार्यक्रम गरी हीरक जयन्ती मनाउँदैछ।

एमालेले ललितपुरको गोदावरीमा आयोजित कार्यक्रममा अध्यक्ष केपी शर्मा ओली, विपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री एव माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका विशिष्ट नेताहरूको उपस्थिति रहेको थियो। जहाँ कम्युनिस्ट पार्टीका नेताहरूले नेपालमा कम्युनिस्ट आन्दोलनको जग खन्ने पुष्पलाल श्रेष्ठलाई योगदानलाई सम्झिँदै कम्युनिस्ट ध्रुवीकरण हुनुपर्ने तर्क राखे। 

यही कार्यक्रममा बहस उठ्यो, एमाले नेता मदन भण्डारीको मृत्यु प्रकरणको।  कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति एवं मदन भण्डारी पत्नी विद्यादेवी भण्डारी एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई सम्झने क्रममा  भावुक बनिन्। 

'एमालेका तत्कालीन महासचिव जननेता मदन भण्डारीको ०५० जेठ ३ गते रहस्यमय जीप दुर्घटनामा निधन भएपछि मेरो राजनीतिक यात्राले नयाँ मोड लिएको थियो,' उनले भावुक हुँदै भनिन्। 

कम्युनिष्ट पार्टीको हीरक जयन्तीको अवसरमा भएको कार्यक्रममा एमालेले उनलाई ‘गणतन्त्र गौरव सम्मान’ समेत दिएको थियो। 

उसो त सार्वजनिक कार्यक्रमहरूमा लामो भाषण नगर्ने कांग्रेस सभापति देउवाले आजको उक्त कार्यक्रममा आवेग रोकेनन्। कार्यक्रममा मदन भण्डारीको बारेमा बोल्न आएको तर आफू र कांग्रेसलाई गाली गरिएको भन्दै उनले आक्रोश पोखे। 

सभापति शेरबहादुर देउवाले कांग्रेसलाई जति गाली गरे पनि एमालेले पटकपटक सरकारको नेतृत्व गर्दा पनि मदन भण्डारीको हत्यारा पत्ता लगाउन नसकेको बताए।

'म आज वास्तवमा भन्ने हो भने मदन भण्डारीको विषयमा बोल्न आएको थिएँ तर कांग्रेसलाई गाली गर्नसम्म गर्नुभयो। अब मैले जवाफ दिन परिहाल्यो,' देउवाले भने। 

कार्यक्रममा उपस्थित पूर्वराष्ट्रपति विद्यादेवी र पूर्वप्रधानमन्त्री ओलीप्रति संकेत गर्दै देउवाले दुई/दुई पटक राष्ट्रपति र प्रधानमन्त्री हुँदा पनि मदनको हत्यारा पत्ता लगाउन नसकेको आरोप लगाए। 
 
उनले थपे, 'मलाई गाली गरेको गर्यै गर्नेले मदन भण्डारीको हत्यारा खोज्न किन सक्दैनन्? मदन भण्डारीको हत्यारा को हो पहिला पत्ता लगाउनुस्। मदन भण्डारीको ड्राइभर पनि मारियो। मार्ने को हो अहिलेसम्म किन पत्ता लागेन? कांग्रेसको विरोध गर्न सजिलो छ, तर मदन भण्डारीको हत्यारा पत्ता लगाउन किन सक्नुभएन? दुईपल्ट राष्ट्रपति बन्नुभयो, प्रधानमन्त्री बन्नुभयो पत्ता लगाउनुपर्यो तपाईंहरूले।'

जवाफमा ओलीले सभापति देउवा घरीघरी जोशिने गरेको भन्दै व्यङ्ग गरे। तर, मदन भण्डारी प्रकरणमा हत्यारा किन नखोजेको भन्ने देउवाको प्रश्नको जवाफ भने दिएनन्। 
 
'मेरा पुराना मित्र घरीघरी अलि जोशिनुहुन्छ,' देउवाप्रति संकेत गर्दै ओलीले भने।

त्यस्तै, प्रधानमन्त्री प्रचण्डले कम्युनिस्ट एक भएर अघि बढ्दा ठूला काम भएको दाबी गर्दै अहिले संविधान कार्यान्वयन, समाजवादको आधार तयार पार्ने विषयमा इमानदार भएर लाग्नुपर्ने बताए।

अहिलेको सहकार्यलाई अघि बढाउनुपर्ने भन्दै उनले भने, 'हामी पहिलेको जस्तो हतारमा हौसिएर कम्युनिस्टको एकता भन्ने पक्षमा छैनौँ। त्यो बेला अलि बढी हौसिएछ कि! समयभन्दा अगाडि नै दौडिएछ कि भन्ने पनि हेक्का राख्नुपर्ने ठान्छु।'

१० बैशाख, २०८१, १५:३३:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।