माल्दिभ्समा उदायो भारतविरोधी शक्ति, आमनिर्वाचनमा  राष्ट्रपति मुइज्जुको दललाई बहुमत

माल्दिभ्समा उदायो भारतविरोधी शक्ति, आमनिर्वाचनमा  राष्ट्रपति मुइज्जुको दललाई बहुमत

एजेन्सी : भारतविरोधी छवि बनाएर माल्दिभ्सको राष्ट्रपति बनेका मोहम्मद मुइज्जुको पार्टीले संसदीय निर्वाचनमा पनि ठूलो सफलता हासिल गरेको छ। 

आइतबार भएको निर्वाचनमा उनको पार्टीले संसदको ९३ सिटमध्ये ६६ सिट जित्दै बहुमत हासिल गरेको छ।

माल्दिभ्समा आइतबार बिहान ८ बजेदेखि साँझ ५ः३० बजेसम्म मतदान भएको थियो। माल्दिभ्सको निर्वाचन आयोगका अनुसार ७२ प्रतिशत मतदान भएको थियो। माल्दिभ्सका २,८४,६६३ जना मतदातामध्ये २,०७,६९३ जना सहभागी थिए।

माल्दिभ्सका रिसोर्ट, जेल र औद्योगिक टापुहरूमा पनि मतदान भएको थियो। 

यसैगरी भारतको तिरुवनन्तपुरम, श्रीलंकाको कोलम्बो र मलेसियाको क्वालालम्पुरमा पनि मतदान भएको थियो। 

माल्दिभ्सको ९३ संसदीय सिटका लागि ६ दलका ३६८ उम्मेदवार चुनावी मैदानमा थिए। यसमा मुइज्जुको पार्टी पिपुल्स नेशनल कांग्रेस र प्रमुख विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टी सहित १३० स्वतन्त्र उम्मेदवारहरू सामेल छन्।

 

माल्दिभ्सको मिडिया हाउस ‘द एडिसन’का अनुसार यो चुनाव राष्ट्रपति मुइज्जुको ६ महिनाको कार्यकालको परीक्षा थियो। मुइज्जु सेप्टेम्बर २०२३ मा ‘इन्डिया आउट’ अभियान चलाएर देशको राष्ट्रपति बनेका थिए।

यसअघि माल्दिभ्सको संसदमा भारत समर्थक मानिने विपक्षी दल माल्दिभियन डेमोक्रेटिक पार्टीको बहुमत थियो। यही कारणले संसदमा मुइज्जुले ठूलो विरोधको सामना गर्नुपरेको थियो। 

अब संसदीय चुनावमा मुइज्जुको पार्टीको जितले भारतको चिन्ता भने थप बढ्दै गएको छ।

१० बैशाख, २०८१, १४:२२:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।