प्रधानमन्त्रीकै अगाडि माधव नेपालको धम्की- ‘हामीले सहज ठानिरहेका छैनौं, गठबन्धन जुनसुकै बेला टुट्नसक्छ’

प्रधानमन्त्रीकै अगाडि माधव नेपालको धम्की- ‘हामीले सहज ठानिरहेका छैनौं, गठबन्धन जुनसुकै बेला टुट्नसक्छ’

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नेपालको राजनीतिक परिस्थिति सहज नभएको बताएका छन्।

नरबहादुर कर्माचार्य स्मृति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा उनले छोटो समयभित्र गठबन्धन जुट्ने र फुट्नेक्रम भइरहेको भन्दै यस्तो परिस्थितिमा सजह अनुभव नभएको बताए।

‘कति दिनसम्म यो गठबन्धन टिक्ने हो? त्यसको सबै जवाफ हाम्रो प्रधानमन्त्रीले दिनुहुन्छ, मैले दिन सक्दिनँ। यति भनौँ परिस्थिति सहज छैन। हामीले सहज ठानिरहेका छैनौँ,’ उनले भने, ‘कसैका धाकधम्की, कसैका गालीगलौज सुन्न हामी राजनीतिमा लागेका होइनौँ। समाजमा जन्मेका पनि होइनौँ। कसैको दास बन्ने हाम्रो नियत पनि होइन।’

यस्तै, उनले देशभक्ति र कम्युनिष्ट आन्दोलनको आवश्यकता अझै भएको भन्दै परिवर्तनको संवाहक जनता हो भन्ने सन्देश प्रवाह नभएसम्म परिवर्तन सम्भव नभएको बताए।

‘निरङ्कुश साशनको विरुद्धमा, जनताको पक्षमा, जनतालाई सार्वभौमसत्ता सम्पन्न बनाउने कुरामा जनताको अधिकारको आवाज बुलन्द गर्ने काम पनि कम्युनिष्ट आन्दोलनकै हो,’ उनले थपे, ‘लोकतन्त्रको संवाहक पनि कम्युनिष्ट पार्टी नै हुन्। जनताका जनजीविकाको सबालमा जनताको पक्षमा हामी लाग्नुपर्छ।’

नेपालको राष्ट्रियताको नाममा, राष्ट्रियताको प्रवर्द्धन गर्ने नाममा पुराना पुस्ताका नेता र कम्युनिष्ट पार्टीले महत्वपूर्ण भूमिका खेलेको पनि उनको भनाइ छ।

१० बैशाख, २०८१, १३:१३:५४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।