टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल विरुद्ध अकुत सम्पत्ति मुद्दा, २३ करोड ७५ लाख बिगो माग

टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल विरुद्ध अकुत सम्पत्ति मुद्दा, २३ करोड ७५ लाख बिगो माग

काठमाडौँ : नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सुनिल पौडेलविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दोस्रो भ्रष्टाचारको मुद्दा दायर गरेको छ। पेमेन्ट गेटवेको मुद्दामा अख्तियारले गरेको मुद्दामा विशेष अदालतले उनलाई दोषी ठहर गरिसकेको छ।

अख्तियारले आइतबार पौडेलविरुद्ध गैर कानुनी सम्पत्ति आर्जनको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो। अख्तियारको अभियोगपत्रमा पौडेलको २३ करोड ७५ लाख सम्पत्तिको स्रोत नखुलेको भन्दै सोही बराबर बिगो माग दाबी गरेको छ।

अख्तियारले पौडेलको आम्दानीको तुलनामा अस्वाभाविक आर्जन देखिएको भन्दै त्यसलाई अकूत सम्पत्ति मानेको छ। उनी १० माघदेखि अख्तियारको हिरासतमा छन्।

अख्तियारले आइतबारै उनीसँगै पक्राउ परेका विकल पौडेलविरुद्ध समेत आफ्नो ओहोदा ढाँटेर सार्वजनिक पदमा पुगी भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको थियो।

विकल पनि सुनिलसँगै १० माघमा पक्राउ परेका थिए। सुनिलको तुलनामा विकविरुद्धको अभियोग भने कमजोर देखिन्छ। सरकारी सेवामा रहेको बेलामा उनी अमेरिकाको स्थायीवासीको अनुमति पत्र प्राप्त व्यक्ति भए पनि ढाँटेको भन्दै अख्तियारले भ्रष्टाचारको मुद्दा लगेको हो।

९ बैशाख, २०८१, १८:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।