वीरेन्द्र तालमा ‘हिउँको पहाड खस्यो कि, ताल फुट्यो !

वीरेन्द्र तालमा ‘हिउँको पहाड खस्यो कि, ताल फुट्यो !

काठमाडौँ : गोरखाको वीरेन्द्र तालमा आइतबार बिहानदेखि अचानक अत्यधिक पानी थपिँदै गएपछि तालको निकास बिन्दुबाट पानी बाहिर बगिरहेको छ। अत्यधिक मात्रामा बाहिर बगेको पानी बुढीगण्डकी नदीमा पसेपछि सतह बढेको छ। दुर्घटनाको आशङ्कामा नदीको तटीय क्षेत्रका स्थानीयलाई सतर्क गराइएको छ।

के यो हिम पहिरो हो?

हिमताल विशेषज्ञ र जलवायुको प्रवृत्तिबारे जानकारहरूले वीरेन्द्र तालमा पानीको मात्र बढ्नुको कारण हिम पहिरो झरेको मानिरहेका छन्। उनीहरूको प्रारम्भिक विश्लेषण अनुसार, पहिलादेखि नै रहेका हिमताल र हिउँ पग्लेपछि बन्ने गरेका तालको प्रकृति फरक हुन्छ।

वीरेन्द्र ताल हिमताल हो। आइतबार यसमा थपिएको अत्यधिक पानी हिउँ पग्लेर थपिएको हो। यो मौसम हिउँ पग्लिने मौसम भएकाले यसलाई अस्वाभाविक मान्न नसकिने भए पनि हिउँ कसरी पग्लियो भन्ने पक्ष भने विश्लेषण हुनुपर्ने उनीहरूको भनाई छ ।

हिम पहिरो विज्ञ सुदीप सिंह ठकुरीले वीरेन्द्र ताललाई हिमताल नै भएको  बताउँदै ताल क्षेत्र वरिपरिको भिरालो जमिन र खोँचमा सतहभित्र पानी पसेर हिउँ जमेर बसेको जमिनको ठुलो ढिक्का तालमा खसेको हुनसक्ने अड्कल काटे।

यतिबेला सुर्खेत पुगेका ठकुरीले आफू पनि जिज्ञासापूर्वक वीरेन्द्र तालको घटनाको थप विवरण जान्न आतुर रहेको बताए।

ठकुरीका अनुसार, तापक्रम बढ्दै जाने मौसम भएकाले हिउँ पग्लिनु अनौठो नभए पनि हिउँ जमेर बसेको जमिनको ठुलो हिस्सा नै खसेको हो भने यो फरक विषय भएको बताए।

जलवायु विशेषज्ञ ङमीन्द्र दाहाल जलवायु परिवर्तनपछि तापक्रमको नियमित सन्तुलन खलबलिएकाले हिउँ पग्लिने प्रवृत्ति फेरिएको बताउँछन्। हिमताल र हिउँ झरेपछि जमेर बनेको ताल फरक हो भन्दै दाहाल ताल फुटको नभएर अचानक थपिएको पानी भरिएर बाहिर बगेको हुनसक्ने बताउँछन्।

९ बैशाख, २०८१, १५:२७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।