गोरखाको वीरेन्द्र तालमा हिमपहिराे, चुमनुब्रीमा बाढी

गोरखाको वीरेन्द्र तालमा हिमपहिराे, चुमनुब्रीमा बाढी
फाइल

काठमाडौं : गोरखामा रहेको वीरेन्द्र तालमा हिमपहिराे खसेको छ। 

चुमनुब्री गाउँपालिकाको मनास्लु क्षेत्रमा रहेको उक्त तालमा हिमपहिरो खस्दा तालको पानी छचल्किएर तल्लो क्षेत्रमा बाढी आएको प्रहरीले जनाएको छ।

बाढीले साम्दु र सामागाउँ जोड्ने एउटा पुल बाढीले बगाएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख बासुदेव पाठकले जानकारी दिए। उनका अनुसार स्थानीयले ताल फुटेको भनेर खबर गरेपछि सामागाउँ प्रहरी चौकीको टोली ताल रहेको क्षेत्रमा पुगेको थियो।

बाढीका कारण एउटा काठको पुल बगाएको र कुनै मानवीय क्षति भने भएको छैन। ​​​​​

प्रहरी चौकीको टाेलीले ताल फुटेको नभई हिमपहिरोका कारण पानी बाहिर आएको जानकारी जिल्ला प्रहरी कार्यालयमा गराएको थियो।

‘बाढीले एउटा कच्ची पुल बगाएको छ। हाम्रो प्रहरी टाेलीका अनुसार बाढीले थप क्षति पुर्याउने सम्भावना छैन’, उनले भने।

प्रमुख जिल्ला अधिकारी भोला दाहालले तालको पानी बाहिर आएको र क्षतिको विवरण प्राप्त हुन बाँकी रहेको बताए। 

त्यो बाढी बुढीगण्डकीमा मिसिने भएकोले तटीय क्षेत्रमा रहेका बासिन्दालाई सचेत हुन प्रहरीले सुझाएको छ।  

९ बैशाख, २०८१, १०:४३:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।