सोचे जस्तो फिल्म नचलेको ‘डिग्री माइला’ टिमले स्विकार्‍यो'

सोचे जस्तो फिल्म नचलेको ‘डिग्री माइला’ टिमले स्विकार्‍यो'

काठमाडौँ : अहिले फिल्म बजारमा दयाहाङ राइको पुतला उभ्याए पनि फिल्म हिट हुन्छ भन्ने भ्रम छ। त्यही भ्रमले धेरै निर्माताहरू दयाहाङको पछि कुदेका छन्। त्यही भ्रममा हप्तैपिच्छे मात्रै हैन एकै दिन दयाहाङका दुई फिल्म रिलिजसम्म भए। अधिकांश निर्माता भ्रममुक्त मात्र हैन कि उत्तानो परे।

भ्रममुक्त हुने सूचीमा फिल्म 'डिग्री माइला' निर्माता पनि परे। कबड्डी अनि जारीको व्यापार देखेर फिल्म रिलिज भएपछि त १५ करोड ग्रस कलेक्सन कटिहाल्छ भन्नेमा थिए होलान्। किनकि जारी पनि त्यति बलियो फिल्म त थिएन। काव्यिक भने थियो है।

चैत ३० मा फिल्म ‘डिग्री माइला’ रिलिज भयो। रिलिज भएको दिन हलमा चाप पनि देखिएकै थियो। तर कमजोर फिल्मका कारण हरेक दिन दर्शकको सङ्ख्या घट्दै गए।

फिल्म रिलिज भएको एक सातापछि शुक्रवार फिल्म निर्माण टिमले पत्रकार सम्मेलन गरेरै स्विकारे'फिल्म सोचे अनुसार चलेन।' तर उनीहरूले फिल्म सोचे अनुसार नबनेको भने स्विकारेनन्।

तै पनि फिल्म घाटामा गएन रे। फिल्मका निर्माता मणिराम पोखरेलको दाबी पत्याउने हो भने फिल्मले  उपत्यकाका हलबाट २ करोड ५० लाख र बाहिरबाट २ करोड ५५ लाख कलेक्सन गरेर एक हप्तामा ५ करोड ५ लाखको कारोबार गर्यो।

उनले भने,‘एक हप्ता हिजो बेलुकासम्म भ्याली भित्र २ करोड ५० लाख रुपैयाँ कलेक्सन भएको छ। यसमा सिङ्गल थिएटर जोडिएको छैन। बाहिर २ करोड ५५ लाख कलेक्सन भएको छ। देशभरबाट पाँच करोड ५ लाख रुपैयाँ कलेक्सन भइसकेको छ।’ उनले फिल्मको ओपनिङ जति सोचिएको थियो त्यति प्राप्त नभएको बताए।

निर्माता पोखरेलले फिल्मले लगानी सुरक्षित भएको दाबी गरे। उनले ३ करोड २५ लाखमा फिल्म बनेको भन्दै जति कारोबार भएको छ त्यसले लगानी सुरक्षित भएको दाबी गरे।

तर फिल्मी व्यापारको आँकडामा तीन करोड लगानी गरेको फिल्मले लगानी उठाउन ६ करोड बढी कारोबार गर्नुपर्ने देखिन्छ।

हलवाला र निर्माताबीच आधा आधा रकम बाँडफाँड गर्दा पनि तीन करोड हातमा पर्न केही दिन फिल्म चल्नै पर्ने हुन्छ। तर अब निर्माताले नै मेरो लगानी उठ्यो भनेर चित्त बुझाए पनि सकियो। फिल्मले कति व्यापार गरेको रहेछ चलचित्र विकास बोर्डले सार्वजनिक गर्ने वार्षिक बक्स अफिसले देखाउँला नै।

यो फिल्मको सकारात्मक पक्ष भनेको निर्माण टिमले यति र उति भनेर गफ नपेली सोचे अनुसार भएन भनेर स्वीकार गर्नु नै देखियो।

 

७ बैशाख, २०८१, २१:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।