राष्ट्रिय भुक्तानी प्रणाली भ्रष्टाचारमा सुनिल दोषी ठहर, सचिव मरासिनीसहित आठ जना निर्दोष

राष्ट्रिय भुक्तानी प्रणाली भ्रष्टाचारमा सुनिल दोषी ठहर, सचिव मरासिनीसहित आठ जना निर्दोष

काठमाडौँ : राष्ट्रिय भुक्तानी प्रणाली स्थापनामा अनियमितता गरेको मुद्दामा सुनिल पौडेल मात्रै दोषी ठहर भएका छन्। शुक्रवार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्य मुरारीबाबु श्रेष्ठको इजलासले पौडेललाई दोषी ठहर गर्दै सचिव मधु मरासिनी लगायतका ८ जनालाई सफाइ दियो।

राष्ट्रिय सूचना प्रविधि केन्द्र (एनआईटीसी)लाई राष्ट्रिय भुक्तानी प्रणाली स्थापनाको जिम्मेवारी दिएर रकम निकासा गरे पनि ठेक्का सम्पन्न भएको पाँच वर्षसम्म प्रणाली सञ्चालनमा नआएपछि अख्तियारले त्यसमा भ्रष्टाचारको दाबी गर्दै विशेषमा मुद्दा दायर गरेको थियो।

अख्तियारले बहालवाला सचिव मरासिनी, राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशकहरू सञ्जय शर्मा, प्रणिता उपाध्याय र सुनिल पौडेल र राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन निर्देशक तथा हालका उपनिर्देशक सफल श्रेष्ठ, रमेश पोखरेल, रामबहादुर बुढा, रामशरण गायक, नीमबहादुर ओलीलाई प्रतिवादी बनाएको थियो।

विशेषले पौडेललाई दोषी ठहर गरेर सजाय निर्धारण गर्न वैशाख २५ मा पेशी तोकेको छ। अख्तियारले २३ करोड २७ लाख ५८ हजार रुपैयाँ बिगो मागदाबी गर्दै अभियोग पत्र दायर गरेको थियो।

७ बैशाख, २०८१, १८:२३:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।