१७ करोड कमाउने फिल्म 'जारी' बनाएका उपेन्द्र सुब्बा भन्छन्, ‘के गर्दैछु भन्ने पनि पत्तो पाउन छाडेँ’

१७ करोड कमाउने फिल्म 'जारी' बनाएका उपेन्द्र सुब्बा भन्छन्, ‘के गर्दैछु भन्ने पनि पत्तो पाउन छाडेँ’

काठमाडौं : गत वर्षको हिट फिल्म दिनेमध्ये एक हुन् निर्देशक उपेन्द्र सुब्बा। 

गत वर्षको वैशाख १ गते रिलिज भएको फिल्म ‘जारी’ले सर्वाधिक कमाई पनि गर्यो। चलचित्र विकास बोर्डको बक्स अफिस रिपोर्ट अनुसार फिल्मले १७ करोड भन्दा बढि कलेक्सन गरेको थियो। 

डेब्यु निर्देशनमा नै हिट फिल्म दिएका लेखक तथा कवि उपेन्द्र सुब्बाले फिल्ममा के गर्दैछु भन्ने पनि पत्तो पाउन छोडेको बताएका छन्।  

उनले बुधबार आफैले निर्देशन गरेको फिल्म ‘मनसरा’को ट्रेलर कार्यक्रममा आफूले आफ्नो फिल्म कस्तो बनिरहेको छ भन्ने कुराको पत्तो पाउन छाडेको बताएका हुन्। 

‘कसो कसो हो, कस्तो छ भन्ने मलाई पत्तो लाको छैन। के गर्दैछु भन्ने पनि पत्तो पाउन छोडे,’ उनले भने, ‘फिल्म राम्रो छ भन्ने पनि थाहा पाउँदिन, बिग्रेको पनि थाहा पाउन छाडेँ। रनभुल्ल छु। यो ट्रेलर पनि कस्तो भा छ भन्ने यो दिमागमै छिरेको छैन। यसो सम्झियो ठिकठिकै छ जस्तो लाग्छ।’

उनको कुरा सुनेर उपस्थित अधिकांशको मुखबाट हाँसो निस्किएको थियो। 

यस फिल्ममा दयाहाङ राई, मिरुना मगर, प्रविण खतिवडा, मेनुका प्रधान लगायतको मुख्य भूमिका रहेको छ। 

फिल्मलाई निर्देशक सुब्बाले नै लेखेका हुन्। 'जारी'को सुन्दरपक्ष साहित्यिक लय थियो। उनले 'मनसरा'को संवादमा पनि मजाले साहित्यको टच दिएका छन्।

यही वैशाख २१ गते रिलिज हुने यस फिल्मलाई शैलेन्द्रध्वज कार्कीले निर्माण तथा छायांकन गरेका छन् भने कबड्डी फिल्मस् र बाँसुरी फिल्मस्ले निर्माण गरेका हुन्।

६ बैशाख, २०८१, १८:३८:३२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।