फ्लड लाइट नभएर प्रिमियर कप हामीले होस्ट गर्न पाएनौं : विनोद दास

फ्लड लाइट नभएर प्रिमियर कप हामीले होस्ट गर्न पाएनौं : विनोद दास

काठमाडौं : नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व खेलाडी एवं क्रिकेट म्यानेजर विनोद दासले फ्लड लाइट नभएकै कारण एसीसी प्रिमियर कप नेपालमा होस्ट हुन नसकेको बताएका छन्।

नेपाल र साउदी अरेबियाको खेलअघिको कान्तिपुर टेलिभिजनमा भएको प्रिम्याच छलफलमा उनले यस्तो बताएका हुन्।

‘फ्लड लाइटको कारण गर्दा एसीसी प्रिमियर कप प्रतियोगिता नेपालमा आएन,’ उनले भने, ‘नभए हामीले एसीसीलाई कन्भिन्स गरिसकेका थियौं। उहाँहरू फ्लडलाइट हाल्न भन्नुभयो।’

भारत र पाकिस्तानको ए टिम सम्मिलित एसीसी इमर्जिङ कपक प्रतियोगिता पनि नेपालले होस्ट गर्न पाउने सम्भावना छ। तर, त्यसका लागि फ्लड लाइट जडान भएको हुनुपर्ने मापदण्ड एसीसीले राखेको दासले बताए।

‘इमर्जिङ कपको प्रतियोगितामा पनि हामी नेपाललाई होस्ट गर्न दिन सक्छौं,’ एसीसीका अधिकारीको भनाइ उद्धृत गर्दै दासले थपे, ‘तर, त्यसका लागि फ्लडलाइट अनिवार्य हुनुपर्छ।’

भौतिक पूर्वाधारका कामको लागि आफूहरूलाई कर्पोरेट क्षेत्र र सरकारको सहयोगको खाँचो रहेको भन्दै उनले अहिलेसम्म भएको छलफलमा सकारात्मक कुराकानी भएको समेत जनाए।

२०२३ देखि घरेलु क्रिकेटलाई संस्थागत गर्न थालिएको र आगामी वर्षदेखि थप घरेलु क्रिकेट थप बलियो हुने उनको भनाइ छ।

५ बैशाख, २०८१, १३:२४:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।