भ्यालेन्सियाका गोल किपरलाई रेड कार्ड, बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

भ्यालेन्सियाका गोल किपरलाई रेड कार्ड, बार्सिलोनाको जितमा लेवान्दोस्कीको ह्याट्रिक

काठमाडौं : रोबर्ट लेवान्दोस्कीले ह्याट्रिकको मद्दतमा स्पेनिस ला लिगामा बार्सिलोनाले भ्यालेन्सियालाई ४-२ गोल अन्तरले हराएको छ।

इस्तादी ओलियम्पिक लुइस कम्पनीमा भएको खेलमा बार्सिलोनाका लागि रोबर्ड लेवान्दोस्कीले ह्याट्रिक गर्दा फर्मिन लोपेजले एक गोल गरे। खेलको २२औं मिनेटमा लोपेजले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए।

त्यसको पाँच मिनेटपछि नै भ्यालेन्सिया खेलमा फर्कियो। ह्युगो डुरोले २७औं मिनेटमा गोल गरे। ३८औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टी पाउँदा पापेलुले गोल गरे र अग्रता दिलाए।

पहिलो हाफको इन्ज्युरी समयमा भ्यालेन्सियाका गोलकिपर जियोर्जी मामारडासभिली रातो कार्ड पाएर मैदानबाट बाहिरिए। जियोर्जीले डि-बक्स बाहिर आएर हातले बल छेकेपछि भीएआरमार्फत परीक्षण गरेर रेड कार्ड दिइएको थियो।

गोल किपरले रेड कार्ड पाएपछि दोस्रो हाफमा भ्यालेन्सिया पूरै दबाबमा पर्यो। जसको फाइदा उठाउँदै लेवान्दोस्कीले तीन गोल गरे। उनले ४९, ८२ र अतिरिक्त समयको तेस्रो मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरे।

जीतका बाबजुत बार्सिलोना रियल मड्रिडभन्दा ११ अंकले पछि छ। ३३ खेलबाट रियल मड्रिड ८४ अंकका साथ शीर्ष स्थानमा छ भने बार्सिलोना ७३ अंकका साथ दोस्रो स्थानमा छ।

१८ बैशाख, २०८१, ०९:१५:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।