आईपीएल : हैदरावादले सुधार्‍यो आफ्नै रेकर्ड, २ सय ६२ रन बनाउँदा पनि बेंग्लुरु पराजित

आईपीएल : हैदरावादले सुधार्‍यो आफ्नै रेकर्ड, २ सय ६२ रन बनाउँदा पनि बेंग्लुरु पराजित

काठमाडौं : इन्डियन प्रिमियर लिग (आईपीएल)को जारी संस्करणमा सनराइजर्स हैदरावादले सर्वाधिक रन बनाउने आफ्नै रेकर्डलाई सुधारेको छ।

गत मार्च २७ मा मुम्बई इन्डियन्सविरुद्ध २ सय ७७ रन बनाएको हैदरावादले सोमबार रोयल च्यालेन्जर्स बेंगलुरुविरुद्ध २ सय ८७ रन बनायो।

यो संस्करणअघि रोयल च्यालेन्जर्स बंगलुरुले सन् २०१३ मा बनाएको २ सय ६२ रनको कीर्तिमान १० वर्षसम्म कायम रहेको थियो। तर, सो कीर्तिमान यो संस्करणमा तोडिएको हो।

कीर्तिमान तोड्नुका साथसाथै हैदरावादले सोमबार राति भएको खेल २५ रनले जितेको छ।

चेन्नस्वामी क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ गरेको हैदरावादले २० ओभरमा ३ विकेट मात्र गुमाएर २८७ रन बनायो।

हैदरावादका लागि ट्राभिस हेडले शतक प्रहार गरेका थिए। ३९ बलमा शतक पूरा गरेका उनी ४१ बलमा ९ चौका र ८ छक्का सहित १ सय २ रन बनाएर आउट भए।

यस्तै हेनरिक क्लासेनले २ चौका र ७ छक्का सहित ३१ बलमा ६७ रन बनाए। अब्दुल समादले १० बलमा ४ चौका र ३ छक्का प्रहार गर्दै ३७ रन बनाए। अभिषेक शर्माले ३४ तथा एइड्न मार्क्रमले ३२ रन जोडे।

बेंगलुरुका लागि लोकी फर्गुसनले २ तथा रिस टोप्ली १ विकेट लिए।

जवाफमा बेंगलुरुले ७ विकेट गुमाउँदै २ सय ६२ रन बनाए पनि जितका लागि पर्याप्त भएन। बेंगलुरुका लागि दिनेश कार्तिकले ३५ बलमा ५ चौका र ७ छक्का सहित ८३ रन बनाए पनि जित निकाल्न सकेनन्।

कप्तान फ्याफ डु प्लेसिसले २८ बलमा ७ चौका र ४ छक्का सहित ६२ रन बनाए। विराट कोहलीले २० बलमा ४२ बनाए। अनुज रावतले २५ जोड्दा महिपाल लोम्रोरले १९ रन जोडे। 

जितपछि हैदरावाद ६ खेलमा ४ खेल जित्दै चौथो स्थानमा छ। बेंगलुरु भने ७ खेलमा १ जित सहित पुच्छारमा यथावत छ।

४ बैशाख, २०८१, ०७:४०:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।