तेस्रो गठबन्धन बनेको सय दिन नपुग्दै खटपट, एमाले र एकीकृत समाजवादी नेतृत्व एक अर्काको आलोचनामा

तेस्रो गठबन्धन बनेको सय दिन नपुग्दै खटपट, एमाले र एकीकृत समाजवादी नेतृत्व एक अर्काको आलोचनामा

काठमाडौं : माओवादी केन्द्रलाई साक्षी राखेर सहकार्य शुरू गरेको एमाले र एकीकृत समाजवादीबीच सय दिन नपुग्दै खटपट र आलोचना शुरू भएको छ। सय दिनलाई सरकारको हनिमुन अवधि समेत भन्ने गरिन्छ।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सत्ता गठबन्धन बदलेपछि एकीकृत समाजवादीलाई गठबन्धनमा ल्याउन प्रचण्डभन्दा एमाले अध्यक्ष केपी ओलीले मिहिनेत गरेका थिए।

पार्टी विभाजनपछि पहिलो पटक नेपाल निवास गएका ओलीले यसबीचमा भएका उतारचढाव बिर्सन भन्दै केन्द्रदेखि प्रदेशसम्म सहकार्यको प्रस्ताव गरेपछि संशयसहित एकीकृत समाजवादी सरकारमा सहभागी भयो। विश्वासको मत दियो।

विश्वासको मतसँगै सहमति तोडिँदै गएको एकीकृत समाजवादीका नेताहरूको दाबी छ। एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले राष्ट्रिय सभाको उपाध्यक्ष, बागमती वा सुदुरपश्चिममध्ये एक प्रदेशको नेतृत्व र राष्ट्रपतिले नियुक्त गर्न बाँकी राष्ट्रिय सभा सदस्य एकीकृत समाजवादीले पाउने सहमति भएको बताएका थिए। तर, सबै सहमति उल्लंघन भयो।

बागमतीमा माओवादी केन्द्रकै शालिकराम जम्मकट्टेल मुख्यमन्त्री भए। राष्ट्रिय सभा उपाध्यक्ष एमालेले लियो अनि राष्ट्रपतिबाट राष्ट्रिय सभामा मनोनित कोटामा पनि एमालेकै चाहना अनुसार सिफारिस भयो। आइतबार सुदूरपश्चिमको नेतृत्वमा नागरिक उन्मुक्तिलाई सघाउने दुई दलको निर्णयसँगै एकीकृत समाजवादी रिसायो।

उसले कांग्रेसले अगाडि सारेको रेशम चौधरी पक्षधरका प्रदेश सांसदलाई मुख्यमन्त्रीमा समर्थन गर्यो। उता एमाले र माओवादी केन्द्रले पनि रन्जिता श्रेष्ठ पक्षधर सांसदलाई मुख्यमन्त्रीमा दाबी गर्न त लगाए। तर, बहुमत पुगेको छैन। अब कसलाई मुख्यमन्त्री बनाउने र के आधार लिने प्रदेश प्रमुखको जिम्मेवारीमा पुगेको छ।

उता माधव नेपाललाई फकाउँदै आएका ओली आइतबारको निर्णपछि माधव नेपालसँग आगो भएका छन्। उनले सोमबार पार्टीको संसदीय दलको बैठकमा एकीकृत समाजवादीले विपक्षीहरूको आशा पलाउने गरी सुदूरपश्चिममा कदम चालेको भन्दै आलोचना गरे।

उनले एकीकृत समाजवादीको कदम अराजनीतिक भएको भन्दै भने, ‘एकीकृत समाजवादी वा के हो नाम त्यसले अराजनीतिक निर्णय लियो।’

उनले एकीकृत समाजवादीले दक्षिणपन्थी अवसरवादी चरित्र नाङ्गो ढङ्गले प्रकट गरेको, कम्युनिस्ट साइनबोर्ड राखेर कांग्रेसको हितमा काम गरेर एमालेलाई कमजोर पार्ने काम गरेको भन्दै आलोचना गरे।

उता माधव नेपालले सुदुरपश्चिममा जे भयो त्यो ठिक भयो भन्दै बागमती, लुम्बिनी र मधेसको सरकार समेत संकटमा परेको बताएका थिए।

सेतोपाटीसँगको कुराकानीमा नेपालले भनेका छन्- ‘मधेस, बागमती र लुम्बिनी प्रदेशमा पनि अब खतराको घन्टी बज्यो। संघीय सरकारबारे हामीले सोचिसकेका छैनौँ। प्रचण्डजी र ओलीजीले कस्तो व्यवहार गर्नुहुन्छ त्यसमा भर पर्छ। हामी पर्ख र हेरको अवस्थामा छौँ।’

३ बैशाख, २०८१, १३:४२:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।