इजरायललाई अमेरिकी चेतावनी- ‘इरानमाथि जवाफी आक्रमण भए हामी समर्थन गर्दैनौं’

इजरायललाई अमेरिकी चेतावनी- ‘इरानमाथि जवाफी आक्रमण भए हामी समर्थन गर्दैनौं’

एजेन्सी : इरानविरुद्ध बदला लिएको खण्डमा अमेरिकाले इजरायललाई सहयोग नगर्ने चेतावनी दिएको छ।

ह्वाइट हाउसका वरिष्ठ अधिकारीहरूले यो जानकारी दिएका छन्। शनिबार साँझ, इरानले इजरायलमा तीन सय भन्दा बढी ड्रोन र मिसाइलहरू प्रहार गरेको थियो।

इरानले अप्रिल १ मा सिरियास्थित इरानको दूतावासमा इजरायलले गरेको आक्रमणको जवाफमा यो हमला गरिएको जनाएको छ।

इरानले प्रहार गरेका लगभग सबै ड्रोन र मिसाइललाई इजरायलका सहयोगी अमेरिका र बेलायतले हावामा खसालेका थिए।

हमलापछि इजरायलका प्रधानमन्त्री नेतन्याहुसँग कुरा गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायलले यसको प्रतिक्रियामा संयमता अपनाउनुपर्ने बताएका छन्।

अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति जो बाइडेनले नेतान्याहुलाई ‘धेरै सावधानीपूर्वक र रणनीतिक रूपमा सोच्न’ भनेका छन्।

इरानले इजरायलमाथि गरेको यो पहिलो प्रत्यक्ष आक्रमण हो।

इरानले इजरायलमा प्रहार गरेका करिब ८० ड्रोन र कम्तीमा ६ ब्यालेस्टिक मिसाइल खसालेको अमेरिकी दाबी छ।

३ बैशाख, २०८१, ०९:२५:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।