सुप्रिम सहकारी ठगीको अनुसन्धान सकिदा रविलाई छोएन प्रहरीले, २८ जनालाई प्रतिवादी बनाउने राय पुग्यो सरकारी वकिलकोमा

सुप्रिम सहकारी ठगीको अनुसन्धान सकिदा रविलाई छोएन प्रहरीले, २८ जनालाई प्रतिवादी बनाउने राय पुग्यो सरकारी वकिलकोमा

बुटवल : बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान सकाएर प्रहरीले बुझाएको प्रस्तावित राय सुझावमा सहकारीका व्यवस्थापकदेखि सञ्चालक सम्म २८ जनालाई प्रतिवादी बनाउन सिफारिस गरिएको छ।

आइतबार सरकारी वकिलको कार्यालयलाई प्रस्तावित राय सुझाव बुझाएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी विजयराज पण्डितले बताए। प्रहरीले दीपेश पुन सहित ५ जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले २८ जनालाई प्रतिवादी बनाउन सुझाव दिएको हो।

प्रहरीले गएको जेठ ४ गते सहकारीका अध्यक्ष ओम प्रकाश गुरुङलाई नियन्त्रणमा लिएर सुरु गरेको अनुसन्धानकोक्रमा तत्कालीन सचिव दीपेश पुनलाई काठमाण्डौबाट नियन्त्रणमा लिएर बुटवल लगिएको थियो।

पोखरामा पक्राउ परेर कारागारमा रहेका सहकारीका तत्कालीन कोषाध्यक्ष कुमार रम्तेल र आइटी प्रमुख भविश्वर अर्याल लगायतलाई बुटवल ल्याएर अनुसन्धान गरे प्रहरीले अनुसन्धान सकाएको हो।

सहकारीका संस्थापक जीवी भन्ने गितेन्द्रबाबु राई, अध्यक्ष ओमप्रकाश गुरुङ, दीपेशकुमार पुन, कुमार रम्तेल, दुर्गा चापागाईँ पाण्डे, भवीश्वर अर्यालसहितलाई प्रतिवादी बनाउन प्रहरीको राय छ।

निता थापा, दीपक न्यौपाने, रोशनी गुरुङ, सागर केसी, सुरज श्रेष्ठ, राजु बराल, धिरजकुमार दास, असव अलि सिद्धिकी, बुद्धि गुरुङ, आशिस आनन्त, मोजहर मोहम्मद, लिगल ढुंगाना, औबहादुर गुरुङ र स्यान्जिक राज भण्डारीलाई प्रतिवादी बनाउन सुझाव दिएको प्रहरीको प्रस्तावित रायमा गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षबारे भने मौन छ।

भूपेन्द्र राई, हेमन्त अधिकारी, कविता तामाङ र नवीन अछामीलाई प्रतिवादी बनाउन सुझाव दिएको प्रहरीले लामिछानेको नामबाट सहकारीको पैसा गएको विवरण सार्वजनिक भए पनि सहकारीका बचतकर्ताको रकम दुरुपयोग र ठगीबारे उनको भूमिकाबारे अनुसन्धानै गरेन।

सहकारीबाट ग्यालेक्सी टेलिभिजनको माउ संस्था गोर्खा मिडियामा अनधिकृत रूपमा रकम गएको खुले पनि त्यो पक्षमा प्रहरी प्रवेश गरेन।

लुम्बिनी प्रदेश सहकारी दर्ता अधिकारीको कार्यालयले सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम हिनामिना सम्बन्धी प्रारम्भिक प्रतिवेदन बुझाएपछि रुपन्देही प्रहरीले अध्यक्ष गुरुङ र भैरहवा शाखामा कार्यरत एक कर्मचारीलाई नियन्त्रणमा लिएको थियो।

सम्बन्धित समाचार:-

२ बैशाख, २०८१, १८:२१:३६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।