डिग्री माइला : बरालिएको कथामा चाउरिएको रामबाबुको निर्देशन

डिग्री माइला : बरालिएको कथामा चाउरिएको रामबाबुको निर्देशन

फिल्म ‘कबड्डी’ र यसको सिक्वेल हेर्दै आएका दर्शकलाई लेखक तथा निर्देशक रामबाबु गुरुङले हिट फिल्म दिन्छन् भन्ने आश हुनु सामान्य नै हो। दश वर्षदेखि उनले हिट फिल्म निर्देशन गर्दै आएका पनि छन्। रामबाबुको फिल्मका कथा र पटकथा सिनेमाटोग्राफी बलिया हुन्थेँ।

रामबाबुको निर्देशनमा शुक्रवारबाट प्रदर्शनमा आएको फिल्म ‘डिग्री माइला’मा भने उनले पुरानो शाखलाई निरन्तरता दिन सकेनन्। फिल्मले दर्शकलाई २ घण्टा हलमा मुस्किलले बाँधेर राख्न सकेको छ। रामबाबुको फिल्म हो, केही गतिलो आइहाल्छ कि भनेर कुर्दाकुर्दै दर्शक दिक्किँदै बाहिरिन्छन्।

यो फिल्मको कथा एक दशक अघि मण्डला नाटक घरमा मञ्चन भएको नाटक 'डिग्री माइला'कै फिल्माङकन हो। नाटक हिट भएको थियो। तर त्यही नाटकलाई पर्दासम्म पुर्याउँदा निर्देशक गुरुङले न्याय गर्न सकेनन्। जसोतसो मध्यान्तरसम्म हलमा टिकेका दर्शक त्यसपछि उकुसमुकुसको अवस्थामा पुग्न सक्छन्। कथा र पात्र दुवै पक्षको लय फुत्कँदै जान्छ।

रामबाबु  र उपेन्द्र सुब्बाको संयोजनमा कथा बन्ने गरेकोमा यो फिल्म बन्दाबन्दै यी दुबैबीच मतभेद भएको समाचार बाहिरिएका थिए। फिल्ममा लर्बरिएको कथा र पटकथाले त्यो मतभेद फिल्म लेखनको बिचतिर पुग्दा भएको हो कि भन्ने देखाउँछ। यी दुवैको दोस्ती लर्बरिएजस्तै कथा लर्बरिएको छ। क्याइमेक्स हेरेर दर्शक खुसी हुन सक्दैनन्।

ओखलढुङ्गाको रुम्जाटारमा अवस्थित श्री अमरज्योती शिक्षा क्याम्पस रुम्जाटार  लागि अङ्ग्रेजी पढाउने शिक्षकको खोजी हुन्छ। अङ्ग्रेजी पढाउने शिक्षक नहुँदा विद्यार्थीको पढाई कमजोर छ। क्याम्पसले अङ्ग्रेजी शिक्षक खोजिरहेको अवस्थामा अचानक छड्के जाँचमा शिक्षा निरीक्षक ऋचा शर्मा स्कुलमा पुग्छिन्।

सबै विद्यार्थीको अवस्थाको बारे जानकारी पाएपछि उनले दुई हप्ताभित्र अङ्ग्रेजी शिक्षक नियुक्ति गर्न चेतावनी दिएर हिँड्छिन्। उनको धम्कीबाट स्कुलको अध्यक्ष रुद्र प्रसाद (प्रकाश घिमिरे) प्रधानाध्यापक कमलमणि नेपाल लगायतकाहरु अङ्ग्रेजी मास्टरको खोजीमा लाग्दा अङ्ग्रेजी लिट्रेचरमा डिग्री पढेर गाउँमा आएका डिल्लीराम भुजेल(दयाहाङ राई) सम्म पुग्छन्।

डिल्लीरामको ध्यान काममा कम गफमै बढी हुन्छ। अंग्रेजीमा डिग्री गरेकै भरमा के-के न भए जस्तै गर्दै उधारो दैनिकीमा सपनाको उडानमा उड्न व्यस्त हुन्छन्। उनले क्याम्पसको अफर मान्छन् या मान्दैनन्? उनको उडन्ते सपना पुरा हुन्छ या तुहिन्छ? फिल्म त्यसै वरिपरि घुमेको छ।

फिल्मको कथाले अहिलेको शैक्षिक बेरोजगार अनि  यथार्थमा भन्दा कल्पनामा रमाउन चाहने पात्रलाई उजागर गर्ने प्रयास गरेको छ। शिक्षासँगै कल्पनाको परिधि र आवश्यकता आङ्कलन गर्न नसक्दा पाउने हण्डरलाई दयाहाङ पात्र मार्फत देखाउने प्रयास गरेका छन् निर्देशकले। क्षमता बुझे मरिचजसरी चाउरिनु पर्दैन भन्ने नै फिल्मको मुख्य सन्देश हो। 

फिल्मले दर्शकलाई मध्यान्तरसम्म बाँधेर राख्न सकेको छ। एउटै किसिमको अभिनयले दिक्क बनाएका दयाहाङको अभिनयमा केही फरक लाग्न सक्छ। विजय बरालले आफ्नो अब्बल अभिनय यात्रालाई यसमा पनि निरन्तरता दिएका छन्।

आँचल शर्माको अभिनय न वाह न छ्या खालको छ। फिल्ममा ऋचा हुनु र नहुनुमा केही फरक महसुस हुन्न। बुद्धि तामाङले हैटको ठाउँमा नयाँ थेगो प्रयोग गरेका छन्। नयाँ थेगोमा उनी ठिकै देखिएका छन्।  सिनेमाटोग्राफी सुन्दर छ। ब्याकग्राउन्ड म्युजिक केही दृश्यबाहेक कानलाई बिझाउने खालको छैन। सङ्गीत पक्ष मध्यम छ।

फिल्मको सबैभन्दा कमजोर पक्ष नै कथालाई अगाडि बढाउन निर्देशकमा परेको सकस हो। विधा कमेडी छानेर समाजको गम्भीर पक्ष उजागर गर्ने प्रयासमा निर्देशक रामबाबु असफल भए। 

मध्यान्तरपछि कथा अनि पात्रको अलमलले निर्देशकको कमजोरी देखाएको छ। स्कुलका अध्यक्ष र शिक्षक कलेजको समयमा अन्य काममै व्यस्त हुन्छन् भन्ने देखाउन तास खेलेको दृश्य पटक-पटक देखाउँदा दर्शक झिँजिन्छन्। बुद्धिको दोहोरिइरहने नयाँ थेगोले दिक्क बनाउँछ।

फिल्म दयाहाङको पात्र डिल्लीरामको मनोविज्ञानभित्र प्रवेश गरेर दृश्यमा उतार्न सफल देखिएन। प्रेमिका, समाज अनि परिवारसँगको द्वन्द्व दर्शकको मनमा प्रवेश गराउन सकेनन् निर्देशकले।

निर्देशकले कथालाई आत्मदाहको चरणसम्म पुर्याएका छन्। तर  दर्शकको मन चस्स बनाउन सकेका छैनन्।आत्मदाहको दृष्यमा आगोले पोल्दा दर्शकको मन पोल्दैन। दर्शकलाई न पात्रको पीडा महसुस हुन्छ न खुसी।

फिल्मको कथा र पटकथालाई कसिलो बनाउन सक्ने पर्याप्त स्थान हुँदा पनि रामबाबुले त्यसमा ध्यान दिन नसकेको प्रस्टै अनुभव हुन्छ। मध्यान्तरपछिको कथा कहिले राजनीतितिर त  कहिले बखतेमा बढी नै फोकसहुँदा फिल्म अलमलिएको छ। 

फिल्मको क्लाइमेक्समा कुनै नयाँपन छैन। कथा र पटकथा कस्न सकेको भए डिग्री माइला पनि निर्देशक रामबाबुको सफल फिल्मको सूचीमा चढ्न सक्थ्यो अनि हलमा दर्शक गोजीबाट मोबाइल निकालेर स्क्रोल गर्न बाध्य हुने थिएनन्। तर कथामा निर्देशक चाउरिदा निर्देशकिय क्षमता पनि चाउरियो।

२ बैशाख, २०८१, १७:१८:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।