टी–२० विश्वकपका लागि अमेरिकामा नेपालको जर्सी बिक्री सुरू

टी–२० विश्वकपका लागि अमेरिकामा नेपालको जर्सी बिक्री सुरू

काठमाडौं :अमेरिका र वेस्टइन्डिजमा संयुक्त रुपमा हुने आइसीसी टी–२० विश्वकपका लागि नेपाल क्रिकेट सङ्घले केही दिन अगाडि जर्सी सार्वजनिक गरेको थियो। 

जुनको १ देखि २९ तारिखसम्म हुने प्रतियोगितामा नेपाली क्रिकेट टिमले लगाउने जर्सीको अमेरिकी बिक्री अधिकार केल्मी नेपालले एक्जोबी यूएसएलाई दिएको छ।

केल्मी नेपालले तयार पार्ने जर्सी अमेरिकामा आधिकारिक बिक्रीको अधिकारका लागि एक्जोबी यूएसएका ब्यवस्थापकद्वय सुमन क्षेत्री र केशव दाहाल तथा केल्मी नेपालका निर्देशक प्रदीप न्यौपानेबीच मेरिल्यान्डको बाल्टिमोरमा सम्झौता भएको हो।

सम्झौता अनुसार केल्मी नेपालले एक्जोबी यूएसएलाई विश्वकपमा नेपालले लगाउने जर्सीलाई उपलब्ध गराउने छ। जसका लागि केल्मी नेपालले जर्सीलाई अमेरिकासम्म पुर्याउने जिम्मा लिएको छ।

पछिल्लो पटक नेपाली क्रिकेट टिमको बढ्दो क्रेजलाई आत्मसाथ गर्दै विश्वकपमा नेपाललाई समर्थन गर्ने समर्थकले सोही गुणस्तरको जर्सी लगाएर विश्वकप हेरून् भन्ने मनसायका साथ यो सम्झौता भएको हो।

जर्सीलाई अनलाइनको माध्यमबाट बिक्री गरिने एक्जोबी यूएसएका व्यवस्थापक सुमन क्षेत्रीले बताए। जसका लागि वेबसाइट तयार पारिएको छ भने मूल्य ३९|९९ डलर राखिएको छ।

नेपालको जर्सी लगाएर विश्वकप हेर्न चाहने अमेरिकामा रहेका समर्थकका लागि यो ठूलो खुसीको विषय रहेको एक्जोबीका व्यवस्थापक क्षेत्रीले बताए।

नेपाली क्रिकेट टिमले समूह चरणका दुई खेल अमेरिकामा खेल्नेछ भने दुई खेल वेस्टइन्डिजमा खेल्नेछ। जसमा अमेरिकामा नेपालले जुन ४ तारिखमा नेदरल्याण्ड्ससँग डालासको ग्राण्ड पिएरीमा खेल्नेछ भने दोस्रो खेल श्रीलङ्कासँग जुन ११ मा फ्लोरिडामा खेल्नेछ। 

समूह चरणका बाँकी दुई खेल वेस्टइन्डिजमा हुनेछन्। 

१ बैशाख, २०८१, २१:५२:२१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।