'युवाहरू सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने देखिएको छ, २०८१ सालमा अझ केही हुन्छ'

'युवाहरू सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने देखिएको छ, २०८१ सालमा अझ केही हुन्छ'

काठमाडौं : संघीय राजधानी काठमाडौंका दुई पर्यटकीय क्षेत्र ठमेल र दरबारमार्ग अबदेखि २४ सै घण्टा खुला रहने भएका छन्। 

ठमेल पर्यटन विकास परिषद् र दरबारमार्ग विकास बोर्डले ठमेलमा शनिबार गरेको  कार्यक्रममा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले व्यवसाय चौबिसै घण्टा खुला हुने घोषणा गरेका हुन्। 

कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले काठमाडौंलाई चलायमान बनाउनका लागि ठमेल र दरबारमार्गलाई पूर्णकालीन सञ्चालन गर्ने निर्णय गरेको बताए।

उनले भने, ‘काठमाडौं अलिकति चलायमान क्षेत्र बनोस् भन्नका लागि हामी ठमेल क्षेत्रलाई पूर्णकालीन खुलाउने निर्णय गरेका हौं । सुरक्षाको जिम्मा सरकारले लिनेछ, गृह मन्त्रालयले लिनेछ।’

देश र समाजलाई उत्कृष्ट बनाउनका लागि नागरिकको रुपमा सबैले कर्तव्यको पालना गर्नुपर्ने उल्लेख गर्दै सुसंस्कृत शहरका रुपमा स्थापित गर्न चाहेको उनले बताए। 

उनले भने, ‘विदेशमा हामी फोहोर गर्नुभन्दा पहिले सोच्छौं तर नेपालमा त्यो पालना गर्दैनौं। यदि देश र समाज उत्कृष्ट चाहिन्छ भने नागरिकका रुपमा पनि हामीले केही न केही कर्तव्य त पालना गर्नैपर्ने हुन्छ। ठमेललाई ठमेल बनाउन, दरबारमार्गलाई दरबारमार्ग बनाउन हामी जनताबाट जरिवाना तिराएर होइन, सुसंस्कृत सहरका रुपमा अगाडि लिएर जान चाहन्छौं। संसारका कयौं देश छन् जहाँ थुकेको र कागज पालेको समेत पैसा लाग्छ। पाइला पाइलामा जरिवाना तिराइन्छ। तर, हामी त्यस्तो गर्दैनौं।’

नयाँ वर्ष २०८१ सालको शुभकामना दिँदै उनले आउँदो वर्षलाई इमानदारितापूर्वक अगाडि बढाउने बताए। 

उनले भने, ‘इमानदारिताका साथ नयाँ वर्षलाई इमानदारिताका साथ अगाडि बनाउने छौं। राम्रो कति गर्न सक्छौं थाहा छैन तर नराम्रो एउटा पनि गर्ने छैनौं। २०८१ साल केही काम देखिने वर्ष हो। यो वर्ष केही न केही हुनेछ। युवाहरू सरकारमा आउँदा केही न केही परिवर्तन हुँदो रहेछ भन्ने संकेत देखिएको छ। हामी यसलाई कार्यरुप दिनका लागि लागिपरेका छौं।’

१ बैशाख, २०८१, २०:२६:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।