जनकपुर पुगेर गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई बाँडेको त्यो आश्वासन

जनकपुर पुगेर गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितलाई बाँडेको त्यो आश्वासन

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले मिटरब्याज पीडितलाई न्याय दिने आश्वासन फेरि दोहोर्याएका छन्। 

प्रदेशस्तरीय सुरक्षा गोष्ठीका लागि जनकपुर पुगेका गृहमन्त्री लामिछानेले मिटरब्याज पीडितहरूको कुरा सुन्दै समस्याको दीर्घकालीन समाधानका लागि बनेको दोस्रो आयोगले काम गरिरहेको हुँदा ढिलो चाँडो सबै पीडितहरूले न्याय पाउने जिकिर गरे।  

जिल्ला स्तरमा अनुचित लेनदेनसँग सम्बन्धित आवेदन माग्ने काम सुरु भएको भन्दै उनले घटनाको प्रकृति र वर्गीकरणअनुसार क्रमशः सबै पीडितले न्याय पाउने बताए।

पीडितहरूसँग उनले आयोगले काम गर्न केही समय लाग्ने भएकाले त्यतिन्जेल धैर्य गर्न आग्रह गरेका थिए। 

छलफलमा पीडितहरूले साहुको एकलौटी दाबीका आधारमा दायर रिटअनुसार अदालतको आदेश मुताबिक आफूहरूमाथि भइरहेको धरपकड रोक्न माग गरेका थिए। 

यता, दोस्रोपटक गृहमन्त्री बनेपछि लामिछानेले भने पटकपटक मिटरब्याज पीडितहरूलाई न्याय दिने आश्वासन बाँड्दै आइरहेका छन्। 

२८ चैत, २०८०, १९:२७:३१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।