'कृषि, पर्यटन र सूचना प्रविधि आगामी बजेटको प्राथमिकतामा राखिने'

'कृषि, पर्यटन र सूचना प्रविधि आगामी बजेटको प्राथमिकतामा राखिने'

काठमाडौँ : अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी बजेटमा पूर्वाधार, कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्रलाई प्राथमिकतामा राखिने बताएका छन्। 

नेपाल भ्रमणमा रहेका एसियाली विकास बैंक (एडिबी) का दक्षिण एसिया क्षेत्र हेर्ने महानिर्देशक ताकेयो कोनेसीसँग मंगलबार मन्त्रालयमा भएको भेटमा मन्त्री पुनले आर्थिक रुपमा शिथिलता भए पनि सुधारको प्रयास गरिरहेको बताए। 

गत वर्षभन्दा चालु आर्थिक वर्षमा आर्थिक वृद्धिदर राम्रो हुने प्रक्षेपणहरू भइरहेको भन्दै उनले ४ प्रतिशत हाराहारीमा आर्थिक वृद्धि हुने देखिएको उल्लेख गरे। त्यस्तै, उनले उत्पादनमुलक क्षेत्रमा वृद्धि घटेको देखिए पनि पर्यटन क्षेत्रमा १९ प्रतिशतको वृद्धि देखिएको बताए। 

मन्त्री पुनले विश्व बैंक र एसियाली विकास बैंकको लगानीमा सञ्चालित विकास आयोजनामा खर्चको प्रगति कम रहेको टिप्पणी गरे। 

आन्तरिक र दातृ निकायको लगानीमा सञ्चालित विकास आयोजनामा खर्च बढाउन आफूले आयोजना सम्बद्ध मन्त्रालयहरूसँग निरन्तर संवाद र परामर्श गरिरहेको मन्त्री पुनले बताए। 

नेपालले पछिल्लो १५ वर्षमा ऊर्जा क्षेत्र र सडक पूर्वाधारमा उल्लेख्य विकास गरेको मन्त्री पुनको भनाइ छ। उनले १५ वर्षअघि २० किलोमिटर सडक बनेकामा हाल सबै प्रकारका गरी १ लाख किलोमिटर सडक निर्माण भएको तथ्याङ्क प्रस्तुत गरे। 

पहाडमा मध्यपहाडी, तराईमा हुलाकी राजमार्ग र दर्जन संख्यामा उत्तर–दक्षिण करिडोरमा सडक निर्माण भइरहेको उनले बताए। ती सडकहरूको निर्माण सम्पन्न भएर सञ्चालनमा आउँदा नेपालको आर्थिक वृद्धिदर निकै राम्रो हुने उनको विश्वास छ। 

महानिर्देशक कोनेसीले एडिबीको लगानीमा सञ्चालित आयोजनाका कामबारे चासो राखेका थिए। उनले आगामी १६ र १७ वैशाखमा काठमाण्डौंमा हुने लगानी सम्मेलनमा एडिबीका उपाध्यक्षको नेतृत्वमा प्रतिनिधिमण्डल सहभागी हुने बताए।

२७ चैत, २०८०, १६:२६:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।