‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने

‘द रेड सुटकेस’ क्यूएफएक्स चेनका हलमा रिलिज नहुने

काठमाडौँ : राम्रो शो नदिएको भन्दै फिल्म ‘द रेड सुटकेस’ ले क्यूएफएक्स चेनका कुनै पनि हलमा फिल्म प्रदर्शन नगर्ने घोषणा गरेको छ। फिल्मको निर्माण कम्पनी आइसफल प्रोडक्सनले जारी गरेको विज्ञप्तिमा देशी तथा विदेशी फिल्मको चापका कारण उचित शो दिन नसकिने इमेल लेखेको भन्दै निर्माणपक्षले क्यूएफएक्समा फिल्म नचलाउने निर्णय गरेको बताएको छ।

फिल्मका निर्माता रामकृष्ण पोखरेलले जारी गरेको विज्ञप्तिमा ‘प्रदर्शनको सँघारमा क्यूएफएक्सले ‘द रेड सुटकेस’लाई अन्य देशी–विदेशी फिल्मको चापका कारण उचित सो दिन नसकिने र अर्को हप्ता रिलिज गरे पुनर्विचार गर्न सकिने आशयको इमेल लेखेपछि यसलाई आपत्तिजनक मान्दै क्यूएफएक्स चेनमा फिल्म प्रदर्शन गर्न नसकिने घोषणा गरेको उल्लेख छ।

निर्माताले अन्य हलमा भने फिल्म पूर्व निर्धारित मितिमा नै रिलिज हुने उल्लेख गरेको छ। कलात्मक चेतमा निर्माण भएका यस्ता फिल्मलाई व्यापार नगर्ने फिल्मको लेबल लगाएर बारम्बार निरुत्साहित गर्दै आइरहेको भन्दै निर्माताले आपत्ति जनाएका छन्। 

निर्माणपक्षले फिल्म नै रिलिज नहुँदै कुनै पनि फिल्मको व्यापारको भविष्यवाणी नगर्न समेत आग्रह गरेको छ। फिडेल देवकोटाको निर्देशनमा तयार भएको फिल्मको ट्रेलरले राम्रो प्रतिक्रिया पाइरहेको छ। अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा प्रदर्शन भएको फिल्मको १५ वटा युरोपियन देशमा ओटिटी प्रदर्शनको अधिकार एचबिओले किनेको छ। फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रवीण खतिवडा र सृष्टि श्रेष्ठ मुख्य भूमिकामा छन्। 

२५ चैत, २०८०, २२:५५:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।