दया र आँचलको छेउमा बुद्धि : न कसैले प्रश्न सोध्छन्, न कुराकानी नै गर्छन्

दया र आँचलको छेउमा बुद्धि : न कसैले प्रश्न सोध्छन्, न कुराकानी नै गर्छन्

काठमाडौं : आफ्नो फिल्मका प्रमोसनमा कलाकारहरू खुलेरै लाग्छन्। फिल्मका मुख्य कलाकार अगाडि हुँदा सहायक कलाकारहरू छायाँमा पर्ने नै भए। पत्रकारको प्रश्न पनि उनीहरूतर्फ नै सोझिँदा सहायक कलाकार ओझेलमै पर्छन्।

बिहीबार यस्तै भयो। हात्तिसारस्थित नेपाल हाउसमा फिल्म ‘डिग्री माइला’को पत्रकार सम्मेलन थियो। फिल्मका मुख्य अभिनेता दयाहाङ राई, आँचल शर्मा, बुद्धि तामाङ, कमलमणि नेपाल, अनिल सुब्बाका अलावा निर्देशक रामबाबु गुरुङ उपस्थित थिए।

उपस्थितमध्ये अधिकांश कुराकानी फिल्मका हिरो दयाहाङ राई, हिरोइन आँचल शर्मा र निर्देशक रामबाबु गुरुङसँग भयो। पत्रकारले प्रश्न पनि तीन जनालाई नै सोधिरहे। तर, दयाको छेवैमा बुद्धि पनि थिए। उनीतर्फ खासै प्रश्न नै आएनन्।

सँगै बसेका बुद्धि, दयाको कुरा सुनेर कहिले हाँस्थे भने कहिले चुपचाप बसिरहन्थेँ अनि घरि–घरि मोबाइलमा घोत्लिरहे। लामो समयपछि उनलाई नाटक र फिल्ममा काम गर्दाको अनुभव सेयर गर्न भने।

बल्ल पालो आयो भन्ने भावमा उनी आफ्नो अनुभव सुनाउन थाले।

उनले भने, ‘डिग्री माइला कलाकारको रूपमा काम गर्दाखेरि चाहिँ धेरै नै रौसिएर आफ्नो पाराको भन्ने थियो। क्यारेक्टर बाँड्दै जाँदा यस्तै–यस्तै प्रकारको क्यारेक्टर पाइयो। उमेरका हिसाबले नाटकमा भन्दा फिल्ममा अलिक गाह्रो गाह्रो हुने रैछ।’

अरु कलाकारलाई १० वटा प्रश्न सोधिँदा उनलाई एउटा मात्रै सोधियो। तै पनि फुरुङ्ग देखिन्थे उनी।

एउटा प्रश्नको उत्तर दिनका लागि उनी एक घण्टा भन्दा लामो समय सोफामा बसे। त्यसबाहेक अरुले बोलेको सुने, मुन्टो हल्लाए अनि फिस्स हाँसे पनि।

नत्र त अरुले बोलेको सुन्यो, मुन्टो हल्लायो घर फर्किनु बाहेक के नै हुन्थ्यो र? अरुले बोल्दा बोल्दै म पनि बोल्छु है भन्ने कुरा पनि भएन। कहिलेकाहीँ त के हिँड्नु जस्तो पनि लाग्दो हो, हैन त बुद्धि जी?

२३ चैत, २०८०, २२:१४:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।