एक अर्काको इगोले भिड्दै तीन फिल्म, अनमोलले जित्छन् कि पूजा या दिनेशले?

एक अर्काको इगोले भिड्दै तीन फिल्म, अनमोलले जित्छन् कि पूजा या दिनेशले?

काठमाडौँ : रावायणमा पूजा शर्मा भएकैले अनमोल केसीले खेल्न नमानेपछि निर्माणको जिम्मा नै सुदर्शन थापालाई दिए पनि फिल्म बनेन। पूजा भूमिगत लगानीकर्ता भए पनि अनमोल बाहिरिए। अनि पुन पूजा रावायणमा निर्मात्रीकै रूपमा भित्रिइन्।

उता अनमोलले योबीचमा फिल्म फर्की फर्कीको अभिनय सक्काए। रिलिज मिति तोकियो जेठ १०। पूजाले रावायणमा नाबालिग बलात्कारका अभियुक्त पल शाहलाई लिइन्। तर जेठ १० मा प्रदर्शन गर्नेगरि फिल्मको काम सक्काउन सम्भव थिएन। मनमा रिस थियो नै। अनि पूजाको जोडबलमा अर्को फिल्म ‘दान्भी’ लाई फिल्म ‘फर्की’ फर्कीसँग जुधाउन जेठ १० कै रिलिज मिति तोक्न लगाइन्।

फिल्म ‘दान्भी’ को सबै काम सकिएको छैन। केही द्वन्द्व अनि गीतको छायाङ्कन भर्खर सकिएको छ। तर रिलिज मिति भने पक्का भइसक्यो।

‘पूजार सार्की’ को रिस भने कलाकारसँग हैन निर्देशक र निर्माताबीचको हो। पूजार सार्कीका निर्देशक दिनेश राउतले ‘फर्की फर्की’ का निर्माता रोहित अधिकारीसँग बदला लिन नै फिल्म जुधाउन लागेको देखिन्छ।

फर्की फर्कीमा अनमोलसँग जसिता गुरुङ छिन्। उता ‘पूजार सार्की’मा प्रदीप खड्का, आर्यन सिग्देल र पल शाह छन्। छड्के-२ बाट खस्किएको अनमोलको क्रेजसँगै तीन जना अभिनेताका कारण फर्की फर्कीलाई सहजै पाखा लगाउन सक्ने निष्कर्ष देखिन्छ दिनेशमा।

यी तीनमध्ये पलको इमेज त अनमोलको भन्दा ध्वस्त छ। नाबालिग बलात्कारको आरोपमा जेलमा बसेर फर्किएका उनीबारे सर्वोच्च अदालतमा मुद्दा विचाराधीन छ। अन्य दुई अभिनेताको क्रेज पनि वाह लायक त छैन। यसले निर्मातासँगको रिसले राउतले निर्मातालाई राम्रै जोखिममा पार्न लागेको प्रस्टै देखिन्छ।

उता जेठ १० कै रिलिज मिति ताकेको ‘दान्भी’ मा पूजा एक्सन अवतारमा देखिएकी छिन्। पूजाका पछिल्ला फिल्मको बक्स अफिस रेकर्ड हेर्ने हो भने फ्लप हिरोइनको रूपमा परिचित छिन्। उनको एकल एक्सन अवतारकै भरमा दर्शक हलसम्म आउने सम्भावना देखिँदैन।

तर रिस खा आफैँ भने जस्तै यी तीनै फिल्मका निर्माण टिम एकले अर्कालाई तह लगाउने रणनीतिमा देखिन्छन्। तर जोखिम भने दर्शकहरूले ल जुध भन्दै उल्टै तीनवटै फिल्मलाई लोप्पा ख्वाउन बेर छैन।

२३ चैत, २०८०, १४:४९:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।