एचबीओले पहिलोपटक किन्यो नेपाली फिल्मको स्याटेलाइट र ओटीटी वितरण अधिकार

एचबीओले पहिलोपटक किन्यो नेपाली फिल्मको स्याटेलाइट र ओटीटी वितरण अधिकार

काठमाडौं : हलिउडको जेठो फिल्म च्यानल होम बक्स अफिस (एचबीओ)ले फिल्म ‘द रेड सुटकेस’को स्याटलाइट र ओटिटी वितरण अधिकार किनेको छ।

एचबिओले युरोपका १५ देशमा वितरणका लागि पहिलो पटक नेपाली फिल्मको स्याटलाइट र ओटिटी वितरण अधिकार किनेको हो।

फिल्मका निर्माता रामकृष्ण पोखरेलका अनुसार एचबीओले ओटीटी अधिकार लिएसँगै लगानी सुरक्षित भएको छ।

हलिउडको भेराइटी म्यागेजिनका अनुसार एचबिओले मलेसिया र ब्रुनाइमा यो फिल्मको बिक्री वितरण तथा प्रदर्शनको अधिकार सुराया फिल्मस्लाई बिक्री गरेको छ।

एचबीओ अन्तर्गत अल्बानिया, चेक गणतन्त्र, स्लोभाक गणतन्त्र, हंगेरी, पोल्याण्ड, रोमानिया, मोल्डोभा, क्रोएसिया, स्लोभेनिया, सर्बिया, कोसोभो, मोन्टेनेग्रो, बोस्निया-हर्जेगोभिना, म्यासेडोनिया र बुल्गेरिया देशमा फिल्म वितरण हुनेछन्।

निर्माता पोखरेलले उत्तरी अमेरिका र ल्याटिन अमेरिकाको लागि फिल्मको बिक्री वितरण गर्न अन्य वितरक कम्पनीसँग वार्ता भईरहेको बताए।

फिडेल देवकोटाको डेब्यू निर्देशनमा बनेको यो फिल्म ‘भेनिस फिल्म फेस्टिभल’को होराइजन्स स्ट्र्यान्डमा प्रिमियर भएको थियो। सो फेस्टिभल रनमा जुरिच र मुम्बई समावेश थिए।

फिल्ममा सौगात मल्ल, प्रवीण खतिवडा, सृष्टि श्रेष्ठ, विपिन कार्कीलगायतको मुख्य भूमिका रहेको छ। आइसफल प्रडक्सनका लागि शोभा थापाको निर्माण रहेको फिल्ममा सुशन प्रजापतिको छायांकन छ। फिल्म नेपालमा भने चैत ३० गते प्रदर्शनमा आउँदैछ।

फिडेलले यसअघि २०१४ मा सर्ट फिल्म ‘द लास्ट याक हर्डर अफ धे’ र वृत्तचित्र ‘विन्ड अफ चेन्ज इन लो मुस्ताङ’ निर्देशन गरेका थिए।

२३ चैत, २०८०, ०८:४३:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।