उप-निर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसले आज आकांक्षीहरूसँग छलफल गर्दै

उप-निर्वाचनका उम्मेदवार टुंग्याउन कांग्रेसले आज आकांक्षीहरूसँग छलफल गर्दै

काठमाडौं : १५ बैशाखमा हुने उप-निर्वाचनका उम्मेदवारको टुंगो लगाउन नेपाली कांग्रेसको बैठक आज पनि बस्दैछ।

सभापति शेरबहादुर देउवा उम्मेदवार चयनका विषयमा सोमबारदेखि छलफलमा छन्। मंगलबार र बुधबार कार्यसम्पादन समितिको बैठकमा छलफल भएपनि कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा टुंगो लागेको छैन।

बिहीबार पनि विहान ९ बजे बुढानिलकण्ठस्थित सभापति देउवाको निवासमा पार्टीको कार्यसम्पादन समितिको बैठक बस्ने प्रचार विभागका प्रमुख मीन विश्वकर्माले जानकारी दिए।

उपनिर्वाचन हुने इलाम-२ र बझाङ प्रदेशसभा-१ मा उम्मेदवारका विषयमा सभापति देउवा र नेता शेखर कोइराला पक्षबीच सहमति हुन सकेको छैन।

सभापति देउवाले इलाम-२ मा जिल्ला सभापति डम्बर खड्काको नाम प्रस्ताव गरेका छन् भने बझाङका लागि अभिषेक सिंहको नाम प्रस्ताव गरेका छन्।

तर, कोइराला समूहले भने इलाम-२ मा महाधिवेशन प्रतिनिधि भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउनुपर्ने अडान राख्दै आएको छ।

उम्मेदवार चयनकै विषयमा बिहीबार जिल्लाका नेताहरूसहित आकांक्षीहरूसँग छलफल गरिने प्रचार विभाग प्रमुख विश्वकर्माले जानकारी दिए।

२२ चैत, २०८०, ०७:४८:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।