केकीको अभिनयको ग्राफ उँभो लगाउँला बोक्सीको घरले?

केकीको अभिनयको ग्राफ उँभो लगाउँला बोक्सीको घरले?

काठमाडौँ : अभिनेत्री केकी अधिकारीको अभिनय यात्रा एकै ग्राफमा रह्यो। न उत्कृष्ट न त निकृष्ट। कति उनले आस गरेको फिल्मले उनी नै निराश बनिन्। कति दर्शकले आस गरेको फिल्मबाट निराश बने। तर उनले अभिनय यात्रा भने रोकिएन।

उनी अब त फिल्म निर्माणतिर पनि लागिन्। वैशाखको १४ गते फिल्म ‘बोक्सीको घर’मा केकी अधिकारी फिल्मबाट हलमा रिलिज हुँदैछ।

दर्शकमाझ फिल्म प्रचार गर्न होलीमा बोक्सी लुसुक्क सार्वजनिक गरे पनि त्यतातिर दर्शकको ध्यान गएन। मङ्गलवार यही फिल्मको  ‘बुझिन मैले’ बोलको गीत सार्वजनिक भएपछि भने केही गतिलै काम भएको छ कि क्या हो फिल्ममा भन्ने सङ्केत देखियो।

प्रकाश सपुतको शब्द तथा सङ्गीत, समीक्षा अधिकारीको स्वर रहेको गीतको सबैभन्दा बलियो पक्ष कोरियोग्राफी अनि केकीको एक्सप्रेसनसहितको नृत्य नै हो।

सुनिल क्षेत्रीले कोरियोग्राफीमा केकीले गीतको भाव अनुसारको अब्बल अभिनय गरेको देखिन्छ। गीतमा देखिएको बलियो भाव जस्तै केकीले फिल्ममा अभिनय गरेको हो भने यो फिल्मले केकीको अभिनय यात्राको ग्राफ उकालो लगाउन सक्छ।

गीतमा केकीसँगै रङ्गमञ्चमा कहलिएका सुलक्षण भारती पनि छन्। साथमा रमा थपलियाको हाउभाउले पनि फिल्मको नाम अनुसारको काम गरेकी छिन्।

फिल्म नै सुलक्षण भारतीको लेखन तथा निर्देशनमा तयार भएको हो। फिल्ममा बद्री अधिकारीले लगानी गरेका छन्। 

२१ चैत, २०८०, २२:२८:४९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।