‘बद्री बहादुर’ नचले कलाकारिता छोड्ने जयकिशनको घोषणा

‘बद्री बहादुर’ नचले कलाकारिता छोड्ने जयकिशनको घोषणा

काठमाडौं : निर्देशक शोभित बस्नेत निर्देशित फिल्म ‘बद्री बहादुर’ यही शुक्रबारबाट देशभर रिलिज हुँदैछ।

फिल्म युनिटले बुधबार राजधानीमा गरेको पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकार जयकिशन बस्नेतले यो फिल्म नचले आफूले कलाकारिता छोड्ने घोषणा गरे।

‘मैले निर्माण गरेका फिल्ममध्ये पछिल्लो फिल्म ‘धुम ४’ असफल भयो। त्यो असफलताको दुःख मलाई छ। यसपटक दर्शकका लागि हँसाउने फिल्म निर्माण गरेको छु। यो फिल्म चलेन भने म कलाकारिता नै छोड्छु’, उनले भने।

फिल्म कमेडी र एक्सनको समिश्रण भएकाले दर्शकका लागि फिल्मले फरक स्वाद दिने बताए।

‘शुक्रबार, शनिबार र आइतबार फिल्म मज्जाले चल्छ। चलेन भने मेरो कलाकारिताले विश्राम लिन्छ’, जयकिशनले भने।

निर्देशक शोभित बस्नेतले ‘बद्री बहादुर’ मौलिक मसलेदार फिल्म बनेकाले दर्शकले रुचाउने दाबी गरे।

‘यो फिल्म हेरिरहँदा दर्शकलाई नयाँ नलाग्न सक्छ, तर हेरुञ्जेल आनन्द आउँछ। मेरो २८ वर्षे फिल्मी करियरमा बद्री बहादुर अर्को राम्रो फिल्म हो’, उनले भने।

फिल्ममा अभिनेत्री पूजा शर्मा र अभिनेता सलोन बस्नेत विशेष भूमिकामा छन्। शोभितले पूजा र सलोनलाई आफ्नो फिल्मको ब्रान्ड एम्बेस्डरका रुपमा तुलना गरे।

‘एउटा राम्रो उत्पादनलाई बजारीकरण गर्न ब्रान्ड एम्बेस्डर चाहिए जस्तै हाम्रो फिल्मका लागि पूजा र सलोन ब्रान्ड एम्बेस्डर हुन्’, शोभितले भने।

अर्का कलाकार राजीवजंग बस्नेत आफूले शोभित बस्नेतकै फिल्मबाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकाले उनको फिल्ममा अभिनय गरिरहन पाउनु आफ्ना लागि खुशीको कुरा भएको बताए।

सञ्चारकर्मी तथा विकास बोर्डका सदस्य समेत रहेका रवि अधिकारी कार्यकारी निर्माता रहेको फिल्म एबी पिक्चर्स फार्म र सलोन सलिना फिल्मसको ब्यानरमा निर्माण भएको हो। विजय गोपाल दली प्रस्तुतकर्ता र मिथुन भोटे फिल्मको निर्मातामा छन्।

फिल्ममा जयकिसन बस्नेत, एलिना गुरुङ, छुल्ठिम गुरुङ, राजीव जंग बस्नेत, धिरेन शाक्य, उत्तम केसी, वर्षा चौलागाईं र निर्देशक शोभित बस्नेत स्वयं देखिएका छन्।

फिल्मको एक गीतमा अभिनेता सलोन बस्नेत र अभिनेत्री पूजा शर्मा समेत फिचर्ड छिन्। फिल्ममा टंक बुढाथोकी र उजन नेम्वाङको संगीत, रामकाजी घिमिरे लेखन, शंकर महर्जनको द्वन्द्व निर्देशन तथा समिर मियाँ सम्पादन छ।

आरआर फिल्म्सले वितरण गर्ने फिल्म काठमाडौं, लमजुङ, धरान र संखुवासभा क्षेत्रमा छायांकन गरिएको हो।

फिल्मका मुख्य सहायक निर्देशक रामजी राउत र ज्ञानकुमार कट्टेल हुन्।

२१ चैत, २०८०, १५:०४:१९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।