उप-निर्वाचन : कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक

उप-निर्वाचन : कांग्रेसलाई उम्मेदवार छान्न सकस, आज पनि बैठक

काठमाडौं : बैशाख १५ मा हुने उप-निर्वाचनका लागि एमाले, रास्वपालगायतका दलले उम्मेदवारी घोषणा गरेर प्रचारमा लागिसकेका अवस्थामा नेपाली कांग्रेसले भने अझैसम्म उम्मेदवारकै टुङ्गो लगाउन सकेको छैन।

उम्मेदवार छान्न सोमबार र मंगलबार दिनभर सभापति शेरबहादुर देउवाले पार्टीभित्र नेताहरूसँग छलफल गरिरहेका छन्। तर, सहमति जुटेको छैन। कसलाई उम्मेदवार बनाउने भन्ने विषयमा नेताहरूबीच मतभेद भएको छ।

मंगलबार उम्मेदवारको टुंगो लगाउन नसकेपछि बुधबार पनि कार्यसम्पादन समितिको बैठक डाकिएको छ। प्रचार विभाग प्रमुख मीन विश्वकर्माले पार्टीले उप-निर्वाचनका लागि उम्मेदवारी दिने र त्यही विषयमा छलफल भइरहेको बताए।

‘सिफारिस भएर आएका नामहरूमाथि छलफल भयो। विभिन्न चरणमा सबै नामहरूमाथि छलफल गरेपछि अब टुंग्याउने चरणमा पुगेको छ,’ उनले भने, ‘आज बस्ने बैठकले टुंगो लगाउँछ।’

बुधबार पनि दिउँसो २ बजे बुढानिलकण्ठस्थित देउवाको निवासमा बैठक बस्दैछ। मंगलबारको बैठकमा सभापति देउवाले इलाम-२ मा डम्बरबहादुर खड्का र बझाङको प्रदेशसभा-१ मा अभिषेक सिंहलाई उम्मेदवार बनाउन प्रस्ताव गरेका थिए। तर, त्यसमा नेता शेखर कोइराला पक्षले असहमति जनाए।

देउवाको प्रस्तावमा नेता कोइराला र महामन्त्री गगन थापाले असहमति जनाएपछि मंगलबार उम्मेदवारको टुंगो लाग्न नसकेको हो।  कोइराला पक्षले इलाम-२ मा भेषराज आचार्य र बझाङमा जगत जोशीलाई उम्मेदवार बनाउन प्रस्ताव गरेको छ।

२१ चैत, २०८०, ०८:५८:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।