स्कुले साथी सम्झिएर भावुक हुँदै सौगातले भने- 'मसँग त आइडिया छैन, युवा विदेशिन सरकारले चैँ रोक्नुपर्छ'

स्कुले साथी सम्झिएर भावुक हुँदै सौगातले भने- 'मसँग त आइडिया छैन, युवा विदेशिन सरकारले चैँ रोक्नुपर्छ'

काठमाडौं : नेपालमा बेरोजगारीको समस्या दिनानुदिन बढ्दो अवस्थामा छ।

दैनिकजसो हजारौं नेपालीहरू वैदेशिक रोजगारमा विदेशिने गरेका छन्। यही कथामा आधारित फिल्म ‘द रेड सुटकेस’को ट्रेलर हेरिसकेपछि अभिनेता सौगात मल्लले आफ्ना स्कुले साथीहरू सम्झिए।

सिटिसी मलको सिडिसी हलमा आयोजित फिल्म ‘रेड सुटकेस’को ट्रेलर रिलिज कार्यक्रममा निकै भावुक हुँदै आफूसँगै पढेका साथीहरू कोही पुलिस बन्छु भन्थेँ, कोही आर्मी, हिरो बन्छु भन्नेहरू अहिले विदेश पलायन हुँदा दुख लागेको बताए। 

‘मेरा कति साथीहरू पनि अहिले विदेशमा छन्। पहिले स्कुल पढ्दा कोही पुलिस बन्ने, कोही आर्मी बन्ने भन्थ्यौँ,’ उनले विगत सम्झँदै भने, ‘ती अधिकांश साथीहरू अहिले विदेशमा छन्।’

उनी आफूसँगैका साथीहरू दैनिक विदेशिदा आफूलाई बेलाबखत झसङ्ग पार्ने उनको भनाइ छ।

‘म यो कुरा सम्झिएर बेलाबखत झसङ्ग हुन्छु। अबको २०/२५ वर्षपछि अझै के होला भन्ने लाग्छ,’ उनले भने, ‘मलाई मनमा सधैं नै यो कुराले एक खालको दुःख र अप्ठ्यारो हुने गर्दछ।’

सरकारले विदेश जाने नेपालीलाई रोक्न नसकेकोमा उनले चित्त दुखाए। नेपालमा सरकारले विदेशिने नेपालीलाई रोक्न नचाहेको उनको बुझाइ छ।

‘रोक्न पाए हुन्थ्यो जस्तो लाग्छ। तर, सरकारबाट केही होला जस्तो लाग्दैन,’ उनले भने, ‘सरकारले त वास्ता नगरेको जस्तो देखिन्छ। के फरक पर्ला र सरकारलाई खै?’

पत्रकारले तपाईंको तर्फबाट यो क्रम रोक्न केही उपाय छ कि भन्ने प्रश्नमा उनले आफूसँग केही आइडिया नभएको बताए।

२० चैत, २०८०, २१:५१:०८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।