'अनुहारको चोटले फिल्म खेल्न थालेपछि लज्जित बनायो, तर पनि प्लास्टिक सर्जरी गराइँन, त्यही दागले सफलता दिलायो'

'अनुहारको चोटले फिल्म खेल्न थालेपछि लज्जित बनायो, तर पनि प्लास्टिक सर्जरी गराइँन, त्यही दागले सफलता दिलायो'

एजेन्सी : बलिउडका आफ्नो एक आवाजले सबैलाई ‘खामोश’ गर्ने लोकप्रिय कलाकार शत्रुघ्न सिन्हाले आफ्नो करियरको सुरुवात सन् १९६९ मा फिल्म ‘प्यार ही प्यार’बाट गरेका थिए।

फिल्ममा धर्मेन्द्र हिरोको भूमिका थिए। शत्रुघ्न भने पहिलो फिल्ममै भिलेन भूमिकामा थिए।

५० र ६० को दशकमा हिन्दी फिल्मका स्टारहरूलाई उनीहरुको अभिनय र ‘गुड लुक्स’का लागि पनि मन पराइन्थ्यो। राजेश खन्नादेखि लिएर दिलीप कुमार र देवानन्द–धर्मेन्द्रसहित कैयौं यस्ता अभिनेता थिए, जसको एक झलक देख्नका लागि फ्यानहरु व्यग्र प्रतीक्षामा हुन्थे।

यी सबैका बीचमा एक मात्र अभिनेता शत्रुघ्न थिए, जो अनुहारमा काटिएको चोटको दागका कारण प्रायः लज्जित हुन्थे।

फिल्म उद्योगमा आएपछि उनले उक्त दागलाई हटाउने सोचेका थिए। तर अभिनेता देवानन्दको एक सल्लाहले उनले त्यो दाग हटाएनन्। जसको परिणाम उनले करियरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन।

शत्रुघ्नको अनुहारमा देखिएको दागलाई धेरैले उनको जन्मजात दाग हो भन्ने सोचेका थिए। यद्यपि, उक्त दाग जन्मजात नभई उनको बाल्यकालको फटाहा चरित्रको परिणाम थियो।

‘मैले एकपटक मेरो मामाले दाह्री काट्दै गरेको देखेको थिएँ। त्यही बेला मलाई पनि दाह्री काट्न रहर जाग्यो। मैले सुरुमा बहिनीको गालामा ब्लेड चलाए, जसकारण उसको अनुहारमा थोरै चोट लाग्यो’, उनले भनेका छन्, ‘त्यसपछि मैले अनुहारमा पानी लगाए र ब्लेड चलाउन सुरु गरें। जसकारण मेरो ओठ नजिकै ठूलो चोट लाग्यो र रगत निस्कियो। म डाक्टरकोमा जानुको सट्टा आफैं डिटोल र पट्टीले घाउ छोप्ने प्रयास गरें। त्यसपछि घाउ निको भएर र दाग स्थायी भयो।’

उनका अनुसार फिल्म उद्योगमा उनी नयाँ हुँदा अन्य कलाकारलाई आफ्नो अनुहारको दाग देखाउन लजाउँथे। उनलाई यही दागका कारण आफ्नो करियर लामो समयसम्म रहँदैन भन्ने डर थियो।

यही पीडाका कारण उनले प्लास्टिक सर्जरी गर्नेसम्मको योजना बनाएका थिए। त्यो समयमा देवानन्दसँग उनको सम्बन्ध घनिष्ठ थियो।

एकदिन उनले देवानन्दसँग आफ्नो समस्या सुनाए। उनले प्लास्टिक सर्जरी गर्न लागेको सुनाउँदा देवानन्दले त्यसो नगर्न सुझाए।

‘यो दाग लुकाउनका लागि केही नगर्नु। मेरो पनि दाँतको बीचमा खाली छ। तर त्यो खाली भाग आज सबैभन्दा ठूलो स्टायल बनेको छ’, देवानन्दले भनेका थिए।

देवानन्दको यो सल्लाहलाई शत्रुघ्नले गम्भीर रुपमा लिए र अनुहारमा दागका साथ फिल्ममा काम गरे। आज पनि उनको अनुहारमा त्यो दाग देखिन्छ। दाग देखिए पनि फिल्म उद्योगमा उनी स्थापित छन्।

२० चैत, २०८०, १५:०६:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।