‘कमेडी क्लब’ बन्द गरेका जितु ‘ज्वाइँ साब’मा भित्रिए

‘कमेडी क्लब’ बन्द गरेका जितु ‘ज्वाइँ साब’मा भित्रिए

काठमाडौं : हास्यकलाकार जितु नेपाल ‘छक्का पञ्जा’ टिमबाट बाहिरिएपछि फिल्ममा जम्न सकेका छैनन्।

मुख्य भूमिका रहेको फिल्म ‘ह्यारी कि प्यारी’ फ्लप भएपछि जितु अर्को फिल्ममा खासै देखिएनन्, नपाएका हुन् वा गर्न नचाहेका हुन्, त्यो चाहिँ उनैलाई थाहा होला।

‘ह्यारी कि प्यारी’पछि जितु टेलिभिजन कमेडी शो ‘मुन्द्रेको कमेडी क्लब’मा व्यस्त भए। अहिले भने उक्त शो पनि बन्द गरिसकेका छन्। त्यहि बेला भनेका थिए, अब फिल्ममा काम गर्न लागेँ।

शो बन्द भएको केही सतापछि नै उनी बसन्त निरौलाले निर्देशन गर्ने फिल्म ‘ज्वाइँ साब’मा अनुबन्ध भएका छन्। रेड आई फिल्मस्को प्रस्तुति, ओएसआर डिजिटल र मौसम फिल्मस्को सहकार्यमा निर्माण हुन लागेको फिल्ममा भूमिका जितुले नै निर्वाह गर्दैछन्।

राज कुमार पण्डितको निर्माणमा तयार हुन लागेको फिल्ममा सामाजिक कथावस्तुलाई कमेडी शैलीमा प्रस्तुत गरिने निर्माण पक्षले जनाएको छ। कमेडी फिल्म भएकाले जितुलाई लिइएको निर्माता राजकुमार पण्डित बताउँछन्।

यता अभिनेता जितु नेपाल पनि यो फिल्मलाई लिएर निकै उत्साहित रहेको बताउँछन्। फिल्ममा उनको जोडीको बारेमा भने निर्माण पक्षले अहिलेसम्म खुलाएको छैन।

मिना देवी खड्का, सौगात पण्डित र पदम तामाङको लगानी रहने फिल्मका कार्यकारी निर्मातामा बिजय बस्याल छन्। सविन अधिकारीको कथा रहने फिल्ममा शंकर धितालको पटकथा तथा संवाद रहनेछ।

आगामी वर्ष तिहारमा रिलिज गर्ने तयारीका साथ फिल्म वैशाख १५ गतेबाट छायांकनमा जाँदैछ।

२० चैत, २०८०, १०:०८:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।