आधाभन्दा बढी जनसंख्या भएको मधेशमा किन चल्दैनन् नेपाली फिल्म?

आधाभन्दा बढी जनसंख्या भएको मधेशमा किन चल्दैनन् नेपाली फिल्म?

काठमाडौं : देशको आधाभन्दा बढी जनसंख्या तराईमै बस्छन्। राष्ट्रिय जनगणना २०६८ को तथ्याङ्कमा ५३.६६ प्रतिशत मानिस तराईमा बस्छन्। देशको आधाभन्दा बढी जनसंख्या बस्ने ठाउँमै नेपाली फिल्मको प्रभाव भने शून्यप्राय छ।

नेपाली फिल्ममा पछिल्लो समय मधेशका कलाकार पनि बढेका छन्। मधेशको कथा पनि बढेका छन्। मधेशको लोकेशनमा सुटिङ हुने फिल्मको संख्या बढेका छन्। तर, दर्शक? दर्शकको अवस्था उस्तै छ। बढ्नै सकेको छैन।

नेपालमा हिट भएका फिल्मले पाएको दर्शक संख्या हेर्ने हो भने सात लाख हाराहारी छ। सात लाख दर्शकले कुनै फिल्म हेरे वर्षकै सबैभन्दा धेरै कमाउने फिल्मको सूचीमा त्यो पहिलो नम्बरमा आउँछ। तर, त्यहि नेपाली फिल्म देशको आधाभन्दा बढी जनसंख्यामा पुग्नै सकेको छैन।

मधेशमा हल नभएका पनि हैनन् अनि फिल्मका पारखीको कमी पनि छैन। कलाका लागि उर्वर क्षेत्र हो मधेश। तर त्यहीँ नेपाली फिल्म चल्दैनन्।

केहीले भाषालाई कारण देखाउँछन्। तर, त्यही क्षेत्रमा दक्षिण भारतीय फिल्मले भयङ्कर व्यापार गर्छ। दक्षिण भारतीय भाषा अनि संस्कृति मधेशको त हैन। ती कसरी चले? त्यसैले भाषा कारण मात्र मधेशमा नेपाली फिल्म चल्न नसकेको भन्ने पूर्ण सत्य हैन।

त्यसो भए समस्या के हो त?

अभिनेता रविन्द्र झा मधेशमा नेपाली फिल्मले दर्शक नपाउनुमा फिल्ममेकरलाई कारक देख्छन्। तर ठ्याक्कै कारण के हो भनेर चाहिँ खुलाउन सक्दैनन्।

उनले भने, ‘तराईमा नेपाली फिल्म नचलेको होइन। चलेका फिल्महरू पनि छन्। वर्षमा एउटा दुईटा नेपाली फिल्म हलमा चल्थ्यो र त्योबेला टिकट काट्दा हात नै पिल्साउनु पर्थ्यो। केही समयअघि देखि मात्र नेपाली फिल्महरू पातलो चल्न थालेको हो।’

उनले त्यो समयमा आफूले भोजपुरी, साउथ इण्डियन फिल्मका हिरो/हिरोइनहरूलाई कहिल्यै नचिनेको बताए। तर, समय अनुसार मधेशका दर्शक परिवर्तन भएको उनले बताए।
अभिनेत्री तथा निर्मात्री रेखा थापा मधेशका हलहरूमा नेपाली फिल्म चल्दैनन् भन्ने भनाइ नै गलत भएको बताउँछिन्। 

उनले मधेशका हलहरूमा नेपाली फिल्महरू मज्जाले चल्ने गरेको अनि आफैँले अभिनय गरेको फिल्म ‘दुर्गा’ले मधेशका अधिकांश हलमा ७५ दिन मनाएर रेकर्ड तोडेको बताइन्।

अभिनेता निखिल उप्रेतीको एक्सनदार फिल्म हेर्न मधेशमा दर्शकहरूको भीड लाग्ने गरेको सम्झँदै उनले केही वर्ष यता भने दर्शक पातलिएको बताइन्।

‘हाम्रै कमजोरीका कारण मधेशका हलमा नेपाली फिल्म सुस्ताएका छन्’, उनले भनिन्।

पुराना कलाकारको पलायन, नयाँ कलाकारको उदय र फिल्ममा मधेश अनि मधेशीको कथा भन्न नसक्दा नेपाली फिल्मले मधेशको ठूलो बजार गुमाउँदै गएको उनलाई लाग्छ।

उनी भन्छिन्, ‘हामी जातियताका फिल्मतर्फ पो आकर्षित भयौ कि?’

पात्रका आधारमा हेर्ने हो भने पछिल्लो समय नेपाली फिल्महरूमा मधेशका कलाकार बढेका छन्। हिजोका दिनमा कमेडीका लागि मधेशका पात्रको प्रयोग हुन्थ्यो। तर, अहिले लिड रोलमै मधेशका कलाकारहरूको अभिनय हुने गरेको छ।

नाजिर हुसेन हुन् या प्रमोद अग्रहरी, नेपाली फिल्ममा मधेशका कलाकारको प्रभाव बढ्दो क्रममै देखिन्छ। पछिल्लो समय मधेश केन्द्रित कथामा बनेका फिल्मको संख्या पनि बढिरहेको छ।

‘एक भगवत् एक गीता’, ‘रंगेली’ अनि ‘अगस्त्य’ यी तीनै फिल्मले मधेशको कथा बोकेको थियो। ‘एक भगवत् एक गीता’मा गैर मधेशी कलाकारको बाहुल्यता थियो। तर, ‘अगस्त्य’ र ‘रंगेली’मा कथा मात्रै हैन, पात्रमा पनि मधेश हावी थियो। तै पनि यी फिल्मले मधेशमा राम्रो प्रभाव जमाउन सकेनन्।

पुराना फिल्म लेखक तथा निर्माता मौनता श्रेष्ठ नेपाली फिल्मको दायरा मधेशमा खस्कनुका पछाडी पहाडी मुलका कलाकार मुख्य कारक रहेको मान्छन्। पहाडी मुलका कलाकारहरूले तराईवासीको हाउभाउ र भाषाशैली बिगारेर गरेको अभिनयको नकारात्मक प्रभाव मधेशमा परेको उनलाई लाग्छ।

नेपाली फिल्म भन्यो कि मधेशकालाई उडाउँछन् भन्ने छाप परेकाले दर्शक भड्किएको उनको तर्क छ। एक हदसम्म उनको तर्क पनि सत्य नै हो। तर, मधेशमा नेपाली दर्शक कम हुनुको मुख्य कारण यो मात्र हो र!

मधेशको कथामा फिल्म बन्दा मधेशकै कथा भन्न सके नेपाली फिल्मको बजार विस्तार हुने उनी बताउँछन्।

‘मधेशवासीको कथा बुन्दा त्यहाँको परिवेश, रहनसहन, भाषाशैली, लवाइखवाइ त्यहाँको मौलिक जस्तो लाग्नुपर्छ। तराईमा बसोबास गर्ने हरेक नेपालीलाई लागोस् कि यो हाम्रो कथा हो।’

कुनै कलाकारलाई धोती र गम्छा पहिरिँदैमा मधेशको पात्र अनि कथा नहुने उनको भनाइ छ।

‘कोही खैनी माड्दै भाषा बिगारेर अभिनय गरेको देख्छु। त्यस्तो तरिकाले मधेशको पात्र भइँदैन,’ उनले भने, ‘मधेशको कथा हुँदा ठ्याक्कै त्यही पात्र भयो भने तराईका दर्शकले नेपाली फिल्म हेर्छन्।’

फिल्म वितरक गोविन्द शाही दश वर्षअघिसम्म मधेशका हलहरूमा नेपाली फिल्मका असाध्यै दर्शक हुने गरेको स्मरण गर्छन्। त्यो समयमा तीन/चार हप्तासम्म हलहरू प्याक हुने गरेको उनको अनुभव छ। त्यतिबेलाको तुलनामा अहिले दर्शक कम भएको उनी स्वीकार्छन्।

‘पहिला मधेशका अधिकांश हलमा नेपाली फिल्म चल्थे, कमाई पनि राम्रै हुन्थ्यो,’ उनी भन्छन्, ‘अहिले पहिलाको तुलनामा दर्शक कम भएकै हुन्।’

नेपाली फिल्मको संख्या बढ्दा दर्शक कम भएको उनको तर्क छ।

‘पहिला नेपाली फिल्म कम बन्ने भएकाले दर्शक धेरै पाउँथे,’ उनी अगाडि थप्छन्, ‘तर अहिले फिल्म नै धेरै बन्ने भएकाले राम्रा फिल्मले मात्र दर्शक पाएको हुनसक्छ।’

पछिल्लो समय मल्टिप्लेक्स हलहरू बन्न थालेपछि केहि दर्शक बढ्न थालेका छन्। तर, १० वर्षअघि जतिका दर्शक भने अझै नेपाली फिल्मले पाउन नसकेको उनी बताउँछन्।

२० चैत, २०८०, ०९:३९:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।