बल्ल बनेको फिल्मको गीतमा झुलुक्क देखिदा पनि खुसी भइन् नीति

बल्ल बनेको फिल्मको गीतमा झुलुक्क देखिदा पनि खुसी भइन् नीति

काठमाडौँ : मिस नेपाल भएको लामो अन्तरालमा फिल्ममा काम गर्ने चाहना राखेकी नीति शाह एक दर्जन फिल्ममा अनुबन्ध भइन्। उनी जति फिल्ममा अनुबन्ध भइन् ती सबै फिल्म बनेनन्। उनी अनुबन्ध भएको फिल्मको निर्माण नभएपछि मिडियाबाट उनले ‘अनलक्की’ को ट्याग टन्नै पाइन्।

हुन पनि जुन फिल्ममा उनी अनुबन्धित भएको समाचार आउँथ्यो केही समयपछि फिल्म रोकिएको समाचार आइहाल्थ्यो। फिल्म ‘एक्स नाइन’, ‘रावायण’ लगायतका फिल्ममा उनी अनुबन्धित भइन्। तर फिल्म सुटिङका लागि फ्लोरमै गएन। फिल्म रोकिनुको कारण उनीभन्दा पनि अन्य नै हुन्थ्यो। तर अपजस उनलाई आइपर्थ्यो।

बिचमा उनले चुपचाप एउटा फिल्ममा काम गरिन्। आइतबार त्यही फिल्मको गीत रिलिज भयो। गीत रिलिज गर्न आयोजित कार्यक्रममा उनी निकै खुसी देखिइन्। खुसी पनि किन नहुन् बल्ल अभिनय गर्ने प्रयास जो सफल भयो।

‘खजुरे ब्रो’मा अनुबन्ध भएपछि उनले हल्ला नगरी अभिनय गरिन्। आइतबार यही फिल्मको गीत रिलिज कार्यक्रममा उपस्थित भएकी थिइन्। ‘खजुरे ब्रो’ पहिलो फिल्म भएको भन्दै सहयोगको आस गरिन्।

उनी फिल्मको गीतमा झुलुक्क मात्रै देखिएकी छिन्। तै पनि खुसी थिइन्। खुसीले बसेकै ठाउँमा नाच्न भ्याइन।

नाचेर स्टेजमा पुगेकी नीतिले भनिन्,‘ यो मेरो डेब्यू फिल्म हो। मलाई रमाइलो लागिरहेको छ।’

फिल्म ‘खजुरे ब्रो’ आगामी वैशाखको २८ गते रिलिज हुँदैछ।

१९ चैत, २०८०, १८:१३:४५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।