गृहमन्त्रीलाई भेटेर हर्कले मागे प्रहरी कार्यालय भवन, हर्कको अभियानमा आउने रविको प्रतिबद्धता

गृहमन्त्रीलाई भेटेर हर्कले मागे प्रहरी कार्यालय भवन, हर्कको अभियानमा आउने रविको प्रतिबद्धता

काठमाडौं : उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङबीच भेटवार्ता भएको छ। आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर मेयर साम्पाङले गृहमन्त्री लामिछानेलाई भेटेका हुन्।

भेटमा मेयर साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका निम्ति पर्याप्त साधन-स्रोतको माग गरेका थिए।

गृहमन्त्रीको सचिवालयका अनुसार गृहमन्त्री लामिछानेलाई प्रहरीको मनोबल उच्च बनाउने गरी काम गर्न मेयर साम्पाङले सुझाव समेत दिए।

त्यस्तै, भेटका क्रममा साम्पाङले कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको गुनासो पोखेका थिए। 

गृहमन्त्रीको सचिवालयका अनुसार उनीहरूबीच मुलतः लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको हो। देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेको भनाइ थियो।

‘नेपालभरि लागुऔषध दुर्व्यसनीको धेरै नै ठूलो समस्या सिर्जना भइसकेको छ। सबैतिर भएपछि त्यहाँ (धरान) पनि समस्या ठूलै छ,’ उनले भने, ‘यसमा विशेष अभियान नै चलाएर संयुक्त रूपमा सबै तहका सरकारहरू बसेर संयुक्त प्रयास गर्न पर्छ।’

गृहमन्त्री लामिछानेले मेयर साम्पाङले हरेक शुक्रबार सञ्चालन गरिरहेको ‘सुधारबार’ अभियानमा कुनै हप्ता आफू पनि सहभागी हुने प्रतिबद्धता जनाए।

१८ चैत, २०८०, १४:३३:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।