‘कांग्रेसले सरकारबाट बाहिरिनु परेको बद्लामा गृहमन्त्रीमाथि छानबिन समिति मागिरहेको छ’

‘कांग्रेसले सरकारबाट बाहिरिनु परेको बद्लामा गृहमन्त्रीमाथि छानबिन समिति मागिरहेको छ’

काठमाडौं : एमालेका प्रमुख सचेतक महेश बर्तौलाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग पूर्वाग्रहको आधारमा प्रेरित रहेको बताएका छन्।

शनिबार सदनको अवरोध हटाउन सभामुख देवराज घिमिरेले राखेको प्रमुख सचेतक र सचेतकहरुसँगको छलफलपछि उनले संसदीय समिति आवश्यकताका आधारमा मात्र बनाउनुपर्ने बताए।

अहिले देखिएको राजनीतिक परिदृश्य आवश्यकता नभई कांग्रेसले सरकारबाट बाहिरिनु परेको बद्लाको रुपमा उठाएको उनको आरोप छ।

उनले भने, ‘तत्काल सरकारबाट बाहिरिन परेको बद्लाको रुपमा उहाँहरूले विषयवस्तु राख्नुभएको हो। यस विषयमा प्रधानमन्त्रीले जवाफ दिइसक्नुभएको छ। एकपटक उठेको विषयमा गृहमन्त्रीले जवाफ दिन चाहनुभएको छ। यसमा प्रतिपक्षले सहजीकरण गर्नुपर्छ। सिङगो देश र जनतालाई के भन्न्न खोज्नुभएको हो, उहाँहरूले धैर्यता राख्नुपर्छ। संसदीय समिति आवश्यकता नभइ पूर्वाग्रहको आधारमा प्रेरित होकि भन्ने देखिएको छ।’

भोलिदेखि लगातार चार दिन बैठक जाने भन्दै भोलि प्रतिनिधिसभा अघि थप छलफलको लागि सभामुखले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन्।

१७ चैत, २०८०, १५:२६:४८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।