गायक रुपक डोटेलको प्रिय १० सुर : गीत भनेको राति नै रेकर्ड गर्ने हो भन्ने लाग्थ्यो, सुरेश दाइको समय नमिलेर पो रैछ!

गायक रुपक डोटेलको प्रिय १० सुर : गीत भनेको राति नै रेकर्ड गर्ने हो भन्ने लाग्थ्यो, सुरेश दाइको समय नमिलेर पो रैछ!

पहिलो नेपाली ताराको सेकेण्ड रनरअप बनेका गायक हुन् रुपक डोटेल। उनले अहिलेसम्म दर्जनौं गीतहरू स्रोतामाझ पस्किसकेका छन्। स्टेज कार्यक्रमका लागि देश विदेशमा पनि आफ्नो गायनमार्फत दर्शकलाई उत्ति नै मनोरञ्जन दिइरहेका छन्। सांगीतिक करियरको लामो समयमा उनले आफ्नो भन्दा बढी अरुको गीत सुनेका र गुनगुनाएका छन्। उकेराको नियमित स्तम्भ प्रिय दश सुरमा उनले आफूलाई मनपर्ने आफ्ना र अरुका गीत यसरी रोजेका छन्

आफ्ना पाँच
सपनी राम्रो देखिनँ
सांगीतिक क्षेत्रमा मलाई परिचित गराएको गीत हो यो। यसले मेरो करियरमा टर्निङ प्वाइन्टको काम गर्यो। आलोकश्रीको शब्द संगीतमा बनेको यो गीतले मलाई सांगीतिक क्षेत्रमा लागिरहन हौसला दियो। गीतको शब्द आलोकश्रीले मलाई सुनाउनुभयो, मलाई मनपर्यो। मलाई गीत गाउन मन लागिरहेको थियो। उहाँले ट्रायलमा गाउने भनेर बोलाउनु भएको थियो। सोही अनुसार सररर वान टेकमा गीत रेकर्ड गरिएको थियो। पछि त्यहि वान टेक नै फाइनल भएछ। वान टेकमै फाइनल गरेको र आफूले मन पराएको शब्द अनि संगीतमा गाउन पाएकाले यो गीत मलाई प्रिय लाग्छ।

बनकी चरी के भन्छे के 
यो गीत फिल्म ‘प्रसाद’मा समावेश गरिएको गीत हो। नेपाली फिल्मका गीतमा लोकशैलीका गीतहरू हाबी भएको समयमा मलाई पनि यस्तै गाउने इच्छा थियो। सोही समयमा मलाई फिल्म ‘प्रसाद’ टिमबाट गीत गाउनका लागि अफर गर्नुभयो। यो गीत स्रोता दर्शकमाझ पनि उतिकै लोकप्रिय बन्यो। बी पाण्डेको शब्द र सुभाष भुसालको संगीत रहेको गीतलाई मैले र अन्जु पन्तले गाएका छौँ।

मेरो बोली सुन्दा तिम्रो मन दुख्छ भने
यो गीतले मलाई रूपक डोटेल भनेर चिनाउन धेरै सहयोग गरेको थियो। यो गीत सुन्ने स्रोताहरूले अहिले पनि रुपकको भन्ने गर्नुहुन्छ। खासमा यो सामान्य कलेक्सन एल्बमका लागि भनेर तयार पारिएको गीत थियो। मैले यो गीत यति पपुलर होला भनेर गाएको पनि होइन र सोच्दा पनि सोचिएको थिएन। तर, सार्वजनिक भएपछि भयङ्कर चर्चा बटुल्यो। गीत सार्वजनिक भएपछि राम्रै गाइछु भन्ने लाग्यो। गीतमा नरहरी प्रेमिको संगीत र मुनाल शिशिरको शब्द रचना रहेको छ।

चोखो माया लाकै हो लाइन भनुँ कसरी 
एक नारायण भण्डारीको शब्द संगीतमा रहेको यो गीत लोक ट्युनमा आधारित गीत छ। लोक आधुनिक प्याट्रनमा बनेको गीत अलि वियोगान्त भाव समेटिएको छ। यो गीत पनि मलाई यतिबिघ्न हिट हुन्छझैँ लागेको थिएन। स्टुडियोमा गीत गाउने बेलामा चर्को स्वरले गाउन भन्नुभएको थियो। त्यसरी नै गाएँ। यो गीतबाट त्यति आशावादी थिइनँ। तर, सार्वजनिक भएपछि नसोचेको हिट भयो।

ए माइली लाहुरेले माया मार्यो नभन
मैले पहिलो पटक स्टुडियोमा प्रवेश गरेर गाएको गीत हो यो। यो मेरो पहिलो एल्बममा समावेश गीत हो। भिम थापाको शब्द रचना रहेको यो गीतमा सुरेश अधिकारीको संगीत छ। यो गीत मेरो लागि किन पनि प्रिय छ भने त्यो समयमा सुरेश अधिकारी एकदमै चलेको संगीतकार हुनुहुन्थ्यो। उहाँका ‘माया नमार’, ‘धड्कन’ लगायतका गीतहरू हिट भइरहेका थिए।

उहाँको समय पाउनै मुस्किल थियो। अनि समय नभएपछि राति १२/१ बजेको समयमा गीत रेकर्ड गर्नुपर्ने हुन्थ्यो। राति १२ बजे रेकर्ड गरेको गीत हो यो। त्यस बेला मलाई गीत भनेको राति नै रेकर्ड गर्ने हो भन्ने लाग्थ्यो। म नयाँ भए पनि गीत गाउँदा सुरेश दाइले टेक्निकहरू सिकाउनुभो। त्यहि भएर पनि यो गीत मेरो लागि एकदमै प्रिय र स्मरणीय छ।

अरुका पाँच 
तिमी जुन रहरले ममा फूल आयौ
स्कुले जीवनमा धेरै गाएको भएर पनि मलाई यो गीत असाध्यै मनपर्छ। दिव्य खालिङको संगीत, दिनेश अधिकारीको शब्द र नारायण गोपालको स्वरमा सजिएको यो गीत मैले रहरै रहरमा गाएको थिएँ। वजिलो गीत गाउँदा अलि वेट भएको मानिन्छ भनेर। समयक्रमसँगै गीत गाउँदै अनि बुझ्दै जाँदा झन् कर्णप्रिय लाग्यो। अहिले पनि यो गीत मैले गाउँदा उस्तै भावनाहरू आउँछ। गाउँघर अनि बाल्यकालका साथीभाइको सम्झना आउँछ।

हजार सपनाहरूको माया लागेर
भक्तराज आचार्यको यो गीत मैले नेपाली ताराको पहिलो अडिसनमा गाउँदा म सेलेक्ट भएको थिए। मलाई अझै सम्झना छ। आइडलहरूको गीत गाउँदा बेग्लै आनन्द महसुस हुन्छ। अहिले पनि म यो गीत गुनगुनाइरहन्छु। गीतमा संगीत पनि भक्तराज आचार्यकै रहेको छ भने शब्द रचना ईश्वर वल्लभको छ।

हिरा काट्ने हिरैमा राखेर 
स्कुलले जीवनमा पहिलो पटक मैले स्टेजबाट ट्रयाकमा गाएको गीत हो यो। मैले पहिलो पटक स्याङ्जाको पाइनरस बोर्डिङ स्कुलमा ट्रयाकमा यो गीत गाइसकेपछि त्यहाँ मेरो चर्चा भएको थियो। रामकृष्ण ढकालले गाउनुभएको यो गीतमा मैले पफर्मेन्स गर्दा स्कुलका शिक्षक शिक्षिकादेखि अधिकांशले मेरो प्रशंसा गरेका थिए। सायद अहिले त्यसैको कारण पनि होला यो स्थानमा आइपुगेको छु। त्यस कारण पनि यो गीत मेरो लागि एकदमै प्रिय लाग्छ। यो गीतको शब्द रचना आनन्द अधिकारीको छ भने संगीत आलोकश्रीको रहेको छ। 

मोहनी लाग्ला है
‘चिनो’ फिल्ममा समावेश यो गीत मैले स्कुल पढ्दाको समय पहिलो पटक सुनेको थिएँ। त्यतिबेला यो गीत सुन्दा खेरि जति आनन्द लाग्थ्यो अहिले पनि उत्तिकै आनन्द र अर्थपूर्ण लाग्छ अनि बाल्यकालका यादहरू आइदिन्छन्। यो गीत त्यतिबेला नाचगानमा बज्ने गर्थ्यो। अहिले पनि केटाकेटीदेखि पाका उमेरका आमाबुवाहरू यसमा नाच्नुहुन्छ। गीत सुन्दा असाध्यै राम्रो छ,अनि गहिरिएर सुन्दा यसका शब्दहरु र संगीतले मन छुन्छ। त्यसकारण पनि यो गीत मेरो लागि प्रिय छ। नारायण गोपाल र आशा भोस्लेले गाउनुभएको यो गीतमा रन्जित गजमेरको संगीत रहेको छ।

हुन् यात्री यौटा
दीप श्रेष्ठले गाउनुभएको यो गीतको शब्द नै प्रिय लाग्छ। यो गीत गुनगुनाउँदा आनन्द महसुस गर्छु। त्यहि भएर बेला बेलामा मलाई यो गीत गाइरहन मनपर्छ। गीतको शब्द रचना भैरवनाथ रिमाल,‘कदम’को छ भने संगीत शुभ बहादुर सुनामले गर्नुभएको छ।

१७ चैत, २०८०, १३:२८:४२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।