स्वास्थ्यमन्त्री यादवलाई तोषिमाले भनिन्, 'खरिद गरेका मेसिन उपयोग भएका छन् की छैनन् बुझ्नुस्'

स्वास्थ्यमन्त्री यादवलाई तोषिमाले भनिन्, 'खरिद गरेका मेसिन उपयोग भएका छन् की छैनन् बुझ्नुस्'

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोषिमा कार्की नेतृत्वको रास्वपाको स्वास्थ्य तथा जनसंख्या विभागको टिमले स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई २६ बुँदे सुझाव पत्र बुझाएको छ।

रास्वपाको स्वास्थ्य विभागकी प्रमुख डा. कार्कीसहित उपप्रमुख डा. पुष्पमणी खराल, सल्लाहकार डा. सुबास प्याकुरेलको टिमले बिहीबार मन्त्रालयमा पुगि मन्त्री यादवलाई भेटेर २६ बुँदे सुझाव पत्र दिएको डा. खरालले जानकारी दिए।

अस्पताल तथा स्वास्थ्य संस्थाहरूले खरिद गरेका तथा त्यहाँ पठाइएका उपकरण उपयोग भए–नभएको, चालु अवस्थामा रहेको वा बिग्रिएको अवस्थामा छन् भन्ने बुझ्नुपर्ने कार्कीले मन्त्री यादवलाई सुझाव दिएकी छन्।

उपकरणका बारेमा बुझेर सोहीअनुरुप मर्मत गर्ने–गराउने वा नचलाइकन थनक्याइएको छ भने आवश्यक संस्थामा परिचालन गर्ने गरी टाइमलाइन तोकेरै कार्य अघि बढाइनुपर्ने सांसद कार्कीको टिमले मन्त्री यादवलाई सुझाव दिएको छ।

मन्त्रीलाई भेट्न पुगेको सो टिमले आइसीयु बेडको उपलब्धता, अस्पतालमा उपलब्ध सेवा लगायत स्वास्थ्य सेवा तथा उपचार सम्बन्धमा बिरामी तथा आम नागरिकले खोजी राख्ने आवश्यक जानकारी प्राप्त हुनसक्ने गरी चौबिसैं घण्टा चल्ने ‘स्वास्थ्य सूचना केन्द्र’को व्यवस्था गरिनुपर्ने सुझाव दिएको छ।

सो टिमले मन्त्री यादवलाई भेटेर स्वास्थ्य क्षेत्रलाई व्यवस्थित र चुस्त सेवा बनाउनुपर्ने लगायतको सुझाव दिएको हो।

१५ चैत, २०८०, १८:२५:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।