नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि कमी

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट, कारोबार रकममा पनि कमी

काठमाडौँ : सेयर कारोबार मापक नेप्से परिसूचक बुधबार १०.८३ अंकले घटेर बन्द भएको छ।

अघिल्लो दिनको तुलनामा बुधबार नेप्से ०.५३ प्रतिशतले घटेर २ हजार ३०.८६ अंकमा घटेको हो। मंगलबार नेप्से करिब १० अंकले बढे पनि त्यो वृद्धि बुधबारसम्म पनि टिकेन।

बुधबार कारोबारमा आएकामध्ये ५१ कम्पनीको सेयर मूल्य बढ्दा १ सय ८८ कम्पनीको घट्यो, बाँकी ६ वटा कम्पनीको सेयर मूल्य स्थिर रहेको नेप्सेले जनाएको छ।

बजारमा परिसूचकसँग कारोबार रकम पनि घटेको छ।

मंगलबार २ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब २३ करोडमा सीमित भएको छ।

कारोबारमा आएका कम्पनीहरूमध्ये शिवम् सिमेन्टको सर्वाधिक कारोबार भएको छ। कम्पनीको एकैदिन ९ करोड ७२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ। सेयर मूल्य भने ५ रुपैयाँले घटेर प्रतिकित्ता ५२५ रुपैयाँमा झरेको छ।

बजार घटेपनि बढेपनि सर्वोत्तम सिमेन्टको सेयर मूल्यमा भने निरन्तर सर्किट लागिरहेको छ। बुधबार घटेको बजारमा पनि कम्पनीको सेयर मूल्यमा १० प्रतिशतले सर्किट लागेर प्रतिकित्ता ९८४.६० रुपैयाँ पुगेको छ।

त्यस्तै, हिमालयन ८०- २० नामक डिबेन्चरको पनि मूल्य ९.९३ प्रतिशतले बढेको छ।

दोहोरो अंकले घटेको बजारमा कालिका लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात् ५.६६ प्रतिशतले घटेको छ।

बुधबार उत्पादनमूलक बाहेक कारोबारमा आएका सबै समूह राताम्मे देखिएका छन्।

१४ चैत, २०८०, १६:०१:३९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।