दुर्गा प्रसाईंका बडिगार्डले बोकेको हतियार कानुनसम्मत देखिएको भन्दै छाड्न आदेश

दुर्गा प्रसाईंका बडिगार्डले बोकेको हतियार कानुनसम्मत देखिएको भन्दै छाड्न आदेश

काठमाडौं : सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंका २ बडिगार्डलाई तत्काल रिहा गर्न आदेश दिएको छ।

मंगलबार सर्वोच्चका न्यायाधीश नहकुल सुवेदी र सुनिलकुमार पोखरेलको इजलासले हतियारसहित सर्वोच्च अदालत परिसरबाट पक्राउ परेका प्रसाईंका बडिगार्डद्धय रामकुमार धिमाल र दीपक खड्कालाई छाड्न आदेश दिएको हो।

लाइसेन्स सहितको हतियार बोक्दा प्रहरीले पक्राउ गरेका भन्दै प्रसाईका बडिगार्डका तर्फबाट सर्वोच्चमा बन्दीप्रत्यक्षीकरणको रिट दायर भएको थियो।

दुर्गा प्रसाईंको मुद्दा सुनुवाइका लागि बन्दुकसहित सर्वोच्च  अदालत प्रवेश गर्ने क्रममा उनीहरू दुवैलाई ५ चैतमा प्रहरीले पक्राउ गरेको थियो। चेकजाँचका क्रममा उनीहरूको साथबाट लाइसेन्स प्राप्त हतियार, त्यसमा लाग्ने १ सय राउण्ड गोली समेत बरामद भएको थियो।

इजाजत लिएर सर्तसहित हतियार बोकी हिँडेको कार्यलाई प्रचलित कानूनले कसुर गरेको नदेखिएको आदेशमा उल्लेख गरिएको छ।

‘लाइसेन्स सहितको हतियार सर्तसहित बोकेको र अदालत परिसरभित्र प्रवेश गर्दा लैजान नमिल्ने भन्दै अदालत बाहिरै रहेन व्यक्तिलाई बोक्ने दिएको अवस्थामा पक्राउ गरी म्याद थपसमेत गरेर अनुसन्धान तहकिकातको कार्य कानूनसम्मत नभइ निवेदकको थुना गैरकानूनी देखिन आयो। अतः निवेदनकलाई दिएको जरुरी पक्राउ पूर्जी, थुनुवा पूर्जी तथा म्याद थपको आदेश तथा पत्र लगायतका काम कारबाही र निर्णय उत्प्रेषणको आदेशले बदर गरी निवेदकलाई गैरकानूनी थुनाबाट आजै मुक्त गरिदिनू भनी विपक्षीहरूका नाममा बन्दीप्रत्यक्षीकरणको आदेश जारी हुने ठहर्छ’ आदेशमा उल्लेख गरिएको छ।

१३ चैत, २०८०, २०:०३:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।